सस्तोमा डलर साटिदिन्छु भन्दै ठग्ने गिरोह प्रहरीको फन्दामा

काठमाडौंः प्रहरीले सस्तोमा अमेरिकन डलर दिने भन्दै ठगि गर्दै हिँडेको अभियोगमा डलर, नेपाली रुपैयाँ र विभिन्न सामानसहित पाँच जनालाई पक्राउ गरेको छ ।

व्यापारी, व्यवसायी तथा विदेशबाट फर्किएकालाई फोन गरेर आफुसँग प्रशस्त अमेरिकन डलर रहेको र सस्तोमा डलर साटिदिन्छु भन्दै डलर देखाएर नेपाली रुपैयाँ लुटपाट गर्ने पाँच जनालाई आज प्रहरीले मध्यपुरथिमि नगरपालिका–९ बोडेबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ बस्ने ३६ वर्षीय खेलबहादुर तामाङ, ३३ वर्षीय रेलबहादुर तामाङ, बाह्रबिसे–६ घर भई हाल मध्यपुरठिमी–९ बोडे बस्ने ५६ वर्षीय श्यामबहादुर तामाङ, सोही ठाउँका २५ वर्षीय रामकृष्ण तामाङ र सोही ठाउँका ३२ वर्षीय कान्छी तामाङलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

सूर्यबिनायक नगरपालिका–२ बालकोटस्थित रोज भिलेज नजिकैबाट बिहीबार काठमाडौंको धापासी बस्ने एक व्यक्तिलाई अमेरिकन डलर देखाई रु पाँच लाख लुटेर फरार भएपछि खोजी गर्ने क्रममा उनीहरुलाई प्रहरीले बोडेबाट पक्राउ गरेको हो ।

प्रहरीले निजहरुका साथबाट नेपाली रु दुई लाख ४२ हजार ९३५, विभिन्न कम्पनीका मोबाइल पाँच थान, दुई थान मोटरसाइकल, डलर भन्दै झुक्याउन तयार गरिएका दुई बण्डल कागजका बिटा बरामद गरेको छ ।

कमेन्टहरु
Loading...