कास्कीका आठ मतदान केन्द्र महिलाको जिम्मामा

Nepal-Election-12013--300x269पोखरा, २९ कात्तिक । संविधानसभा निर्वाचनका लागि कास्कीका ८ मतदान केन्द्र महिला कर्मचारीको जिम्मामा लगाईएको छ । निर्वाचन अधिकृतको कार्यालय कास्कीले चार निर्वाचन क्षेत्रमध्ये तीनवटा क्षेत्रका आठ केन्द्रहरूमा महिला कर्मचारीलाई मात्र खटाएको हो ।

क्षेत्र नं १ को एउटा, २ को चार र ३ को तीनवटा केन्द्र गरी ८ केन्द्रमा महिला कर्मचारीले मात्र जिम्मेवारी पाएका हुन् । केन्द्रहरूलाई नमुना बनाउने उद्देश्यले नगर क्षेत्रका आठवटा मतदान केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी महिलालाई दिइएको निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता ठाकुर खरेलले जानकारी दिए ।

उनका अनुसार महिलालाई खटाइएको आठ केन्द्रहरूमा क्षेत्र नं १ को महिला विकास समाज मतदान केन्द« लेखनाथमा लोकसेवा आयोगका वीनिता भट्टराई, क्षेत्र नं २ को कन्या मावि ‘क’ मतदान केन्द्रमा महिला तथा बालबालिका कार्यालयका पूर्णकुमारी श्रेष्ठ ,मतदान केन्द्र ‘ख’ मा सहकारी डिभिजन कार्यालयकी खिमकुमारी पोख्रेल, अमरसिंह नमुना उच्च माविमा जिल्ला शिक्षा कार्यालयकी मनकुमारी पौडेल र विन्ध्वासिनी उच्च मावि बाटुलेचौरमा, पोखरा उपमहानगरपालिकाका सविता ढुङ्गाना मतदान अधिकृतका रूपमा खटिएका छन् ।

त्यस्तै क्षेत्र नं ३ को राम निमाविको तीन वटै मतदान केन्द्रहरूमा महिला कर्मचारीको नेत्तृत्व हुने भएको छ । ‘क’ मतदान केन्द्रमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सरिताकुमारी खतिवडा, ‘ख’ केन्द्रमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयकी इश्वरी ढकाल र ‘ग’ मतदान केन्द्रमा पश्चिमाञ्चल वन तालिम केन्द्रका शान्ता काफ्ले मतदान अधिकृतका रूपमा खटिएका छन् ।

प्रवक्ता खरेलका अनुसार ती केन्द्रहरूमा महिला सुरक्षाकर्मी नै खटिएका छन् । उक्त केन्द्रहरूमा मतदाता अधिकृतमात्र होइन सहायक अधिकृतदेखि सम्पूर्ण कर्मचारी महिला रहने छन् ।

कमेन्टहरु
Loading...