पोखरा । नेपालमा थप १ हजार ३ सय १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा थप १ हजार ३ सय १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको हुन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७० हजार ६ सय १४ पुगेको छ ।
हाल नेपालमा १८ हजार ८ सय ८९ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । पछिल्लो अवधीमा १२ हजार २ सय ६२ जनाको नमुना परीक्षण गरिएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टाको अवधीमा १ हजार ४ सय ५५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ५१ हजार ८ सय ६६ पुगेको छ ।
नेपालमा हाल २ सय २७ जनाको आइसियु तथा ३९ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । मोरङ, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन तथा रुपन्देही जिल्लामा ५ सयभन्दा बढी कोरोना भाइरस संक्रमित रहेका छन् । त्यस्तै सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु तथा हुम्ला जिल्ला कोरोना संक्रमित मुक्त जिल्ला हुन् ।
पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा ६ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । कोरोनाबाट ज्यान गुमाउनेमा ३ महिला तथा ३ पुरुष रहेका छन् । मोरङकी ६० वर्षीय, काठमाडौंकी ७५ वर्षीय तथा कपिलवस्तुकी ७० वर्षीय महिलाले पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट ज्यान गुमाएका छन् ।
त्यस्तै मोरङका ५५ वर्षीय, ललितपुरका ५१ वर्षीय तथा सप्तरीका ७० वर्षीय पुरुषले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय ५९ पुगेको छ ।