नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा १ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।
जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भीरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको ज्यान गएको हो ।
बस भीरबाट खस्दा गम्भीर घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिएका छन् ।
बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ७९४० नंको बस माथिबाट खसेको पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो ।
पहिरोेका कारण बस खस्दा अन्य ६ जना घाइते भएका छन् । घाइते सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ । बसमा १८ जना सवार थिए । यसैबीच दाउन्नेको यस खण्डमा बिहीबार बिहान ७ बजेबाट पहिरो खसी राजमार्ग बन्द भएकामा अझै पूर्णरूपमा सञ्चालन हुन सकेको छैन ।
गए राति पहिरो पन्छाएर सामान्यरूपमा यातायात सञ्चालन भएकामा पुनः सोही स्थानमा आज बिहान ३ बजेको समयमा पहिरो खसेपछि अहिले राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा रहेको प्रहरी नायब उपरीक्षक खाँणले बताए । रासस