आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । स्व शेर्पाको टेकुस्थित घाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । हिमचितुवा उपनामले चिनिएका शेर्पाको ७२ वर्षको उमेरमा गत सोमबार जोरपाटीस्थित निजी निवासमा निधन भएको छ ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले स्व शेर्पालाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप सरकारका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले शेर्पा गुम्बा बौद्धमा रखिएको शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए । पर्यटन विभागका महानिर्देशक, उच्च सरकारी अधिकारी, वरिष्ठ पर्यटन व्यवसायीलगायतले शेर्पाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

स्व शेर्पाले बिनाअक्सिजन १० पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । उनका ३ छोरा र १ छोरी रहेका छन् । आङरिताका श्रीमतीको ७ वर्षअघि निधन भएको थियो ।

सोलुखुम्बुको थामेमा जन्मिएका शेर्पाले सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका थिए ।

सन् १९९६ मा बिना अक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो । शेर्पाले सगरमाथा मात्रै नभई बिना अक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धवलागिरी लगायत दर्जनौं हिमालको आरोहण गरेका छन् । रासस

कमेन्टहरु
Loading...