पछिल्लोपटक नेपालमा १६ जनाले कोरोनाबाट ज्यान गुमाए, थप ११ सय ५४ लाई संक्रमण पुष्टि

पोखरा । नेपालमा थप १ हजार १ सय ५४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा थप १ हजार १ सय ५४ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६५ हजार २ सय ७६ पुगेको छ ।

हाल नेपालमा १७ हजार ६ सय ११ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । यो अवधीमा ९ हजार ५ सय ३३ जनाको पिसिआर परीक्षण गरिएको थियो । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५ जना कोरोनामुक्त भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ४७ हजार २ सय ३८ पुगेको छ ।

यस्तै अहिले नेपालमा १ सय ९६ जनाको आइसियु तथा ३१ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

मोरङ, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन तथा रुपन्देही जिल्लामा ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । त्यस्तै सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु तथा हुम्ला कोरोनामुक्त जिल्लाहरु हुन् ।

नेपालमा पछिल्लो पटक कोरोना भाइरस संक्रमणबाट १६ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये ३ जना महिला हुन् भने १३ जना पुरुष हुन् । पछिल्लो पटक मकवानपुरकी १७ वर्षीय सहित ललितपुरकी ५८ वर्षीय र दोलखाकी ५२ वर्षीय महिलाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।

त्यस्तै झापाका ७२ वर्षीय, सुनसरीका ४९ वर्षीय, पर्साका ८८ वर्षीय, भक्तपुरका ६२ तथा ८४ वर्षीय, काठमाडौंका ५८, ७३, मकवानपुरका ६८, ललितपुरका ६१, चितवनका ५५, रुपन्देहीका ६७ तथा बाँकेका ५० र ५९ वर्षीय पुरुषले पछिल्लोपटक कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ४ सय २७ पुगेको छ ।

कमेन्टहरु
Loading...