गति लिँदै तनहुँको बन्दीपुरमा निर्माणाधीन केबुलकार

तनहुँ । कोभिड–१९ को संकटका बीच तनहुँको बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबुलकारको कामले गति लिएको छ । केही समय काम अवरुद्ध भए पनि यसपछि निरन्तर काम जारी रहेको छ । बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले संकटकै बीचमा पनि कामलाई तीव्र पारिएको जानकारी दिएका छन् । उनका अनुसार ८०/८५ जना मजदूर प्रयोग गरीे पूर्वाधार निर्माणलाई तीव्र गति दिइएको छ ।

केबुलकारको तल्लो स्टेसनको भवन निर्माण ८० प्रतिशत सकिएको छ भने माथिल्लो स्टेसनको फाउन्डेसनको काम सुरु भएको छ । चारतारे होटल सहितको ‘क्विन टावर’ को पनि भुइँतल्लाको ढलान सुरु गरिएको छ । ‘तल्लो स्टेसनमा ३ तल्लाको भवन लगभग सकिने अवस्थामा पुगेको छ, माथिल्लो स्टेसन र क्विन टावरको काम पनि सुरु भएको छ ।’ अध्यक्ष शर्माले भने, ‘कहिले संघीय सरकारको बन्दाबन्दी, कहिले स्थानीय सरकारको बन्दाबन्दी काम बीचमा पनि काम भइरहेको छ ।’

उनका अनुसार केबुलकारको टावरका सबै काम सकिएको र केबुलकारको बाक्सा जडान गर्न बाँकी छ । भारतबाट सामग्री ल्याउनुपर्ने भएकाले कठिनाइ भएको उनले जानकारी दिएका छन् । ‘भारतबाट अहिले सामग्री ल्याउन गाह्रो परिरहेको छ, कोभिड–१९ को संकट नभएको भए काम धेरै अगाडि बढिसक्थ्यो ।’ उनले भने ।

अन्य पूर्वाधार निर्माण जारी रहँदै अगामी फागुनमा केबुलकार सञ्चालन गर्ने तयारी गरिएको थियो । सामग्री ल्याउन नसकिएकाले केबुलकार सञ्चालनको तयारी पनि पछाडि धकेलिने भएको छ । कोभिडको संकटका कारण पूर्वाधार निर्माणको खर्च नबढे पनि अन्य खर्च १० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ ।

बन्दीपुर गाउँपालिका–४ ठुल्ढुंगामा तल्लो स्टेसन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेसन निर्माण भइरहेको छ । माथिल्लो स्टेसनमा ८० करोडको लागतमा चारतारे होटल पनि निर्माण हुनेछ । चारतारे होटल निर्माणको जिम्मा काठमाडौंस्थित चन्द्र निर्माण सेवाले पाएको छ । उक्त होटल निर्माणका लागि नेपाल एसबिआई बैंकसँग ऋण सम्झौता गरिएको छ । उक्त भवनमा आधुनिक भ्यू टावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुने कम्पनीले जनाएको छ ।

बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत १ अर्ब ५६ करोड रहेको छ । केबुलकार परियोजनाको परामर्शदाताका रुपमा काठमाडौंस्थित केज कन्सलट्यान्ट प्रालि, मेकानिकाल परामर्शदाताका रुपमा भारतस्थित सिआरएस र ब्रिको इङगल्यान्ड रहेको छ । आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबुलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ १ हजार १ सयभन्दा बढी लगानीकर्ता रहेका छन् ।

प्रारम्भमा ५६ करोडको लागतमा केबुलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबुलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबुल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरण जडान गर्ने योजना थप गरेको थियो । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जंगल सफारीको सेवा सुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ ।

कम्पनीले केबुलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई ४५ लाख बराबरको सेयर प्रदान गरिसकेको छ । ठुल्ढुंगास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा २ सय जना वारपार गर्न सक्नेछन् । एसियाकै ठूलो दावी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ । ठुल्ढुंगास्वाँराबाट सुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले १ किलोमिटर ६ सय मिटर यात्रा गर्नेछ । रासस

कमेन्टहरु
Loading...