बैतडीमा दादुरा रुबेलाका बिरामी भेटिए

बैतडी । जिल्लाका २ बालबालिका तथा १ किशोरीमा दादुरा र रुबेलाको रोग देखा परेको छ । पाटन र दशरथचन्द नगरपालिकामा ती रोगका बिरामी देखिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिएका छन् । उनका अनुसार दशरथचन्द–२ का २ वर्षीय बालकमा रुबेला, पाटन–४ का ४ वर्षीय बालक र दशरथचन्द नगरपालिका ६ की १८ वर्षीया किशोरीमा दादुरा देखिएको हो ।

दादुरा रुबेला देखिएका दुवै ठाउँमा स्वास्थ्यकर्मीले उच्च सतर्कता साथ उपचार गरिरहेको खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिएका छन् । उनले भने, ‘दादुरा रुबेला देखिएका ठाउँका अन्य बालबालिकामा पनि यस्तो लक्षण देखिए/नदेखिएका बारेमा स्वास्थ्यकर्मीले अध्ययन गरिरहेका छन् ।’

दादुरा रुबेलाको संक्रमण देखिएका तीनै जनाले यसअघि खोप भने लगाएको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप लगाएर पनि दादुरा रुबेला संक्रमण देखिएकाले यसको विषयमा अध्ययन भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो दिएका छन् । उनले भने, ‘के कति कारणले उक्त रोगको संक्रमण देखियो अध्ययनकै क्रममा छौं, अहिले नै कसरी भयो भनेर भन्न सकिने अवस्था छैन ।’

अहिले जिल्लामा ३ जनामा मात्रै दादुरा रुबेलाको संक्रमण देखिएकाले आत्तिहाल्नुपर्ने अवस्था नआएको तर सतर्क रहनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् । बालबालिकालाई दादुरा रुबेला रोगबाट बचाउन लागि शिशु जन्मेको ९ महिनामा पहिलोपटक र १५ महिनामा दोस्रोपटक दादुरा रुबेला खोप लगाउने गरिन्छ । दादुरा भएमा शरीरमा बिमिरा आउने, उच्च ज्वरो आउने, नाकबाट सिंगान बग्ने, खोकी लाग्ने लगायतका लक्षण देखा पर्ने गरेका छन् ।

स्वास्थ्यकर्मीका अनुसार दादुरा रोगको पहिलो लक्षण उच्च ज्वरो आउनु हो । संक्रमित व्यक्तिको सम्पर्क भएको १०/१२ दिनपछि ज्वरो आउँछ । यस समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने वा आँसु बग्ने र रोगीको गालाको भित्री भागमा मसिना सेतो दाग देखापर्छ ।

यससँगै केही दिनपछि मुख तथा माथिल्लो गर्दनको भागमा केही उठेका बिमिरा देखा पर्छन् । ती बिमिरा करिब ३ दिनभित्र छाती, पेट, हात तथा खुट्टामा फैलिन्छन् । यी बिमिरा ५/६ दिनसम्म रहिरहन्छन् र त्यसपछि क्रमशः हराएर जान्छन् । सामान्यतया उक्त रोगको जीवाणु शरीरमा प्रवेश गरेको ७ देखि १८ दिनभित्रमा लक्षण देखिन थाल्ने स्वास्थ्यकर्मीले बताएका छन् । रासस

कमेन्टहरु
Loading...