पश्चिम बंगाल र केरलाबाट अल कायदा सम्वद्ध ९ व्यक्ति पक्राउ

एजेन्सी । भारतको आतंकवाद विरोधी राष्ट्रिय अनुसन्धान निकाय (एनआइए) ले शनिबार भारतको दक्षिणी र पूर्वी राज्य केरला र पश्चिम बंगालबाट अलकायदा सम्वद्ध केही व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ । एनआइएले ९ व्यक्तिलाई पक्राऊ गरिएको बताउँदै ती सबै व्यक्ति अल कायदासँग सम्वद्ध रहेको दावी गरेको छ ।

एनआइएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज बिहान सबेरै एनआइएले एर्नाकुलम (केरला) र मुर्शिदावाद (पश्चिम बंगाल) मा धेरै ठाउँमा एकसाथ छापा मारेको थियो । जसमा अल कायदा समूहसँग सम्बन्धित ९ जनालाई पक्राउ गरिएको छ ।’

पश्चिम बंगाल र केरलालगायत भारतका विभिन्न स्थानमा अल कायदा समूहको अन्तर–राज्य सञ्जाल रहेको गोप्य जानकारीपछि उनीहरूलाई पिछा गरिएको थियो ।

‘यो समूहले निर्दोष मानिसको हत्या गर्ने तथा भारतका प्रमुख प्रतिष्ठानमा आतंकवादी हमला गर्ने योजना बनाइरहेको विज्ञप्तिमा बताइएको छ । ९मध्ये ६ जना पश्चिम बंगाल र ३ जना केरलाबाट पक्राउ परेका थिए ।

पक्राउ परेका व्यक्तिलाई केरला र पश्चिम बंगालको प्रहरी हिरासतमा लिई सम्बन्धित अदालतमा थप अनुसन्धानको लागि पेश गरिने बताइएको छ । रासस

कमेन्टहरु
Loading...