संविधान दिवसको मूल समारोहमा जे देखियो …

काठमाडौं । गत वर्ष संविधान दिवसका दिन हातहातमा झण्डा बोकेका आमसर्बसाधारण ठाउँठाउँबाट हर्सोल्लासपूर्ण रुपमा खुसीयाली साटासाट गर्न चोक, चौतारा, सडक ओइरिएका थिए । हातहातमा झण्डा र मनमनमा संविधान थियो । काठमाडौँमा विभिन्न जातजाति, समुदाय र धर्म संस्कृति मान्ने व्यक्ति बडो खुसीका साथ दिवस समारोहमा सरिक थिए । उपत्यकाको हरेक क्षेत्रमात्रै होइन हरेक घर झण्डामय भएको थियो । राष्ट्रिय चाडकै रुपमा मनाइएको संविधान दिवसले ऐतिहासिक झलक पस्केको थियो ।

विभिन्न जातजातिको सास्कृतिक झाँकीसहित मौलिक भेषभुषामा भएको सहभागिताले टुँडिखेलको शोभा बढेको थियो । सास्कृतिक संस्थानले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सास्कृतिक झाँकी प्रदर्शन गरेको थियो । कतै नौमती बाजा, कतै लाखे नाच, कतै सारंगीको धुन त कतै नेवारी समुदायका विभिन्न झाँकी र नृत्यले शोभा बढाएको थियो । भ्रमण वर्षका कार्यक्रम र दृष्य मोहित पार्न खालको थियो ।
विडम्बना यो अवसर यसपालीको संविधान दिवसमा प्राप्त हुन सकेन ।

आम नागरिकको मनमनमा संविधान भए पनि नेपाली जनताले विगतमा झैं मन खोलेर दिवस समारोहमा सहभागी हुन पाएनन् । चाहना हुँदाहुँदै पनि कोभिड–१० संक्रमण जोखिका कारण सम्भव भएन । यद्यपि सरकारले विशेष समारोह आयोजना गरेर आज संविधान दिवस भने मनाएको छ । निक्कै सुनसान रहेको सैनिकमञ्च टुँडिखेलमा भौतिक दुरी कायम गरेर दिवस मनाइएको हो । आज यहाँ न जातजातिका झाँकी नै थियो न त आम सर्वसाधारण तथा सारा सरकारी कर्मचारी नै उपस्थिति हुन पाए ।

सहभागी थिए त केवल राष्ट्रप्रमुख, सरकार प्रमुख, व्यवस्थापिका, न्यायपालिकाका प्रमुख, संवैधिानिक निकायका प्रमुख, मन्त्रीगण, नेपाल सरकारका सचिव तथा अन्य सिमित विशिष्ट अधिकारीहरु । न त भव्य ¥याली नै आयोजना हुन सक्यो न त जातजातिका साँस्कृति झाँकीले नै शोभा बढाउन सक्यो ।

संविधान जारी भएको ५ वर्ष पुरा भएको उपलक्ष्यमा आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजना भएको उक्त समारोहमा नेपाली सेनाको ब्याण्ड टोलीले भने राष्ट्रिय भावनाले ओतप्रोत धुनसहित विभिन्न प्रस्तुती भने दिएको थियो । उनीहरुले अन्य सैन्य कला भने देखाउन पाएनन् । हजारौंको बलिदानपछि सशस्त्र संघर्षलाई विश्राम दिँदै जनताबाट चुनिएका जनप्रतिनिधिद्वारा गठित संविधानसभाबाट २०७२ साल आजकै दिन मुलुकमा पहिलोपटक संविधान जारी भएको थियो ।

विगत ६५ वर्षअघिको नेपाली जनताको नयाँ संविधान बनाउने चाहना साकार भएको यो दिन आफैंमा ऐतिहासक र १ युगको अन्त्य र अर्को युगको प्रारम्भ भएको दिन पनि हो । यसपालिको दिवस समारोहमा नेपाली सेनाका २ हेलिकप्टरबाट ‘संविधान दिवस–२०७४’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । यस्तै रंगीबिरंगी बेलुनसमेत उठाइएको थियो ।

नेपाली सेनाको १ टुकडीले राष्ट्रपति भण्डारीलाई सलामी अर्पणपछि छैटौं संविधान दिवसका स्मरणमा शान्तिको प्रतीक ६ जोडी परेवा उडाएर औपचारिक कार्यक्रम सुरु भएको थियो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च सरकारी अधिकारीको सहभागिता थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक जीवनलाई नै अस्तव्यस्त पार्ने र अर्थतन्त्रलाई गम्भीर धक्का पु¥याउने गरी फैलिएको कोभिड–१९ संक्रमणको महामारीको प्रभावका बारेमा विचारविमर्श गरी दिवस मनाउनु परेको बताए । उनले यसलाई छिट्टै परास्त गरेर मुलुकको हरेक गतिविधि विगत झैँ चलायमान हुने विश्वाससमेत व्यक्त गरेका छन् । कोरोनाकालका कारण खुसीसाथ संविधान मनाउन नपाएपनि नेपालको संविधान आम नागरिकको मनमनमा रहेको अनुभूति गर्न सकिन्छ । रासस

कमेन्टहरु
Loading...