रिना थापा । झन्डै ६ महिनासम्म ठप्प रहेको लामो दुरीको यातायात सेवा असोज १ गतेदेखि सुचारु भएका छन् । कोरोना कहरले नेपालमा समेत असहज स्थिती पैदा भएसँगै गत चैत ११ गतेदेखि बन्द रहेको पर्यटक बससेवा सञ्चालन गर्न पाउने सरकारको निर्णयसँगै व्यवसायीले उच्च स्वास्थ्य सुरक्षा अपनाएर बस सञ्चालन गरेका हुन् ।
यद्यपि बस सञ्चालनमा आएपनि यात्रुको संख्या भने न्युन छ । सामान्य अवस्थामा बसको टिकट पाउनै मुश्किल हुने गरेकोमा अहिले भने यात्रु अभावमा एकदुई बस मात्रै सञ्चालनमा आएका छन् ।
टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) का संस्थापक अध्यक्ष श्रीकान्त आचार्यले बस सेवा सञ्चालनमा आएपनि यात्रु एकदमै न्युन रहेको जानकारी दिए । उनका अनुसार सामान्य समयको हिसाबले यतिबेला जम्मा ७ प्रतिशत मात्र यात्रुले बसमा यात्रा गरेका छन् ।
लकडाउनअघि पोखरा–काठमाडौं र काठमाडौं देखि पोखराका लागि करीब ४४ पर्यटक बस दैनिक रुपमा चल्ने गर्थे ।सेवा सुचारुको तेश्रोे दिनसम्म आईपुग्दा दैनिक दुई–तिन ट्राभल एजेन्सीका पर्यटक बस मात्र सञ्चालनमा आएका छन् ।‘यात्रु थोरै भएपनि सुरक्षा सर्तकता अपनाएर सेवा सञ्चालन गरिरहेका छौँ ।’ आचार्यले भने ।
पर्यटक बस चढ्नुअगाडि यात्रुको शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक र यात्रुले मास्क र पञ्जा अनिवार्यरूपमा लगाउनुपर्ने, बसभित्र सेनिटाइज गर्ने जस्ता व्यवस्था गरेर बस सञ्चालन गरिरहेको उनले बताए ।
सरकारले भनेअनुसार भाडा वृद्धि गरेर प्रत्येक सिटमा एकजना मात्र यात्रु राखेर सेवा प्रदान गरेको पनि उनले दावी गरे ।लकडाउनअघि पोखराबाट काठमाण्डौ जाँदा प्रतियात्रु ८ सय रुपैया भाडादर थियो भने हाल १ हजार १ सय रुपैँया भाडा दर कायम गरीएको छ । बस व्यवसायीले ४० सिट क्षमतामा २० यात्रु चढाउँदै आएका छन् ।
कोभिड–१९ का कारण बाह्य पर्यटक तत्काल आउन नसके पनि आन्तरिक पर्यटक र यात्रुलाई लक्षित गरेर सरकारले बससेवा सञ्चालन गर्न सहज वातावरण बनाएको हो । यद्यपि बसमा यात्रु न्युन हुँदा व्यवसायी मर्कामा परेका छन् । देश दर्शन ट्राभल्स प्रा.लि.पोखराका सञ्चालक सुवास पहारीका अनुसार बसमा यात्रा गर्ने यात्रु कहि पोखरामा रहेका पर्यटक बाहेक सबै नेपाली छन् ।
असोज एक गते पोखरादेखि काठमाडौं देशदर्शनले १० यात्रु काठमाडौं लगेको थियो भने ग्लोबल भ्याकेसनले ११ यात्रु गरि जम्मा २१ यात्रुले यात्रा गरेका थिए । सोही दिन काठमाडौं देखि पोखरा आएका दुई बसमा जम्मा ५–५ गरी १० जना मात्र यात्रु थिए ।
यसैगरी असोज २ गते ग्लोबलले १४ यात्रुलाई पोखरा देखि काठमाडौँ पु¥याएको थियो भने देश दर्शनले १० जना गरी २४ जना यात्रुलाई काठमाडौं लगेको थियो । उता त्यसै दिन देश दर्शनले १९ र ग्लोबल भ्याकेशनले १६ यात्रु बोकेर काठमाडौबाट पोखरा आएको थियो ।
असोज ३ गते भने यात्रुको संख्यामा अलिक वृद्धि भएको छ । शनिवार पोखराबाट–काठमाडौं रुटमा तीन पर्यटक बस संचालनमा आए । न्युरोड ट्राभलमा १५, नोबेलमा १७ र देशदर्शन ट्राभल्समा २० गरि जम्मा ५२ जना यात्रु काठमाडौं पुगे । पर्यटक बस चढेर काठमाडौं देखि पोखरा आउनेको यात्रु संङ्ख्या भने जम्मा २० रह्यो ।