पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको संविधान २०७२ ले मुलुकको राजनीतिक प्रणालीको टुंगो लगाएकाले यसको मौलिकाता र संरचनामा खलल पुग्नेगरि संसोधन गर्न नहुने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रणालीगत, संरचनागत र कानूनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकता अनुसार संशोधन गर्न सकिने बताए लगतै नेता पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
पाँचौ संविधान दिवसका अवसरमा शुभकामना दिँदै नेता पौडेलले संविधानको मौलिकता र संरचनामा खलल पुग्ने गरि संशोधन गर्दै देशलाई बारम्बार प्रयोगको थलो मात्र बनाउने अधिकार कसैलाई नभएको बताएका छन् । उनले नेपाली जनताले लामो संघर्षपछि र धेरै दुःख मेहनत गरेर नेपालको वर्तमान संविधानको बनेको उल्लेख गर्दै संविधानले नेपालका सबै जातजाति, भाषाभाषी संस्कृतिहरुको भावनालाई समेत संगेटेर लगभग ७० वर्ष पछि आएर देशमा राजनीतिक प्रणालीको टुंगो लगाएको बताए ।
पौडेलले नितान्त लोकतान्त्रिक मान्यतामा आधारित भएर बनेको बर्तमान संविधानलाई कार्यान्वयनमा ल्याएर जनतालाई न्याय र समृद्धि दिनु हामी सबैको साझा कर्तव्य भएको उल्लेख गरेका छन् ।
उनले संविधान निर्माणकै क्रममा रहेको केही सामान्य गुनासाको सम्बोधन सबैको सहमतिमा गर्न सकिने बताए । तर प्रणालीगत र संरचनात्मक हिसाबले संविधानको मौलिकतामा खलल पु¥याउने गरी संशोधन गर्दै देशलाई बारम्बार प्रयोगको थलो मात्र बनाइराख्नु राष्ट्रको हितमा नभएको र त्यस्तो अधिकार कसैलाई नभएको पौडेलको भनाई छ ।