म्याग्दीमा स्क्रब टाइफस र डेंगुको संक्रमण बढ्दै

म्याग्दी । कोरोना भाइरस संक्रमणको त्राससँगै म्याग्दीमा स्क्रब टाइफस र डेंगुको संक्रमण फैलँदै गएको छ । जिल्लामा हालसम्म ३८ जनामा स्क्रब टाइफस र ७४ जनामा डेंगुको संक्रमण देखिएको हो । सबैभन्दा बढी मंगला गाउँपालिकाकामा ३० जनामा डेंगुको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैगरी रघुगंगामा ६, अन्नपूर्णमा ४, मालिकामा ३ र धवलागिरी गाउँपालिकामा २ तथा बेनी नगरपालिकामा २९ जनामा डेंगको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताए । उनले जिल्लाको उच्च पहाडी क्षेत्रमा पनि लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमणको समस्या देखिएपछि बिरामीको नमूना संकलन गरेर थप परीक्षणका लागि काठमाडौं पठाइएकोमा डेंगु पुष्टि भएको जानकारी दिएका छन् ।

जीउ दुख्नु, उच्च ज्वरो आउनु, आँखाका गेडी दुख्नु, मांसपेशी तथा हाडजोर्नी दुख्नु, झाडापखाला लाग्नु र वान्ता आउनु डेंगुका लक्षण हुन् । डेंगु भाइरसले संक्रमित लामखुट्टेले टोकेको ३ देखि १० दिनभित्र शरीरमा यसको लक्षण देखिन सक्छ । बेनी अस्पतालका डाक्टर मनोज घिमिरेले भने, ‘सरसफाइमा ध्यान दिने, लामखुट्टेको बासस्थान र लामखुट्टेको लार्भा नष्ट गर्नु नै डेंगुबाट जोगिने प्रमुख उपाय हो ।’

बढ्दो गर्मी तथा पानी परेपछि म्याग्दीमा डेंगु रोगका बिरामी बढ्दै गएका हुन् । डेंगु संक्रमित बढेपछि यो जिल्ला उच्च जोखिममा परेको छ । एडिज एजिप्टाई नामक पोथी लामखुट्टेले एकबाट अर्को व्यक्तिलाई टोकेर डेंगु रोग सार्ने गर्छ । यसबाट बच्न पानी जम्ने खाल्डाखुल्डी पुरिदिने, धेरै भीडभाडमा नजाने, सुत्ने बेलाको समयमा झुलको प्रयोग गर्ने र समुदायस्तरमा सचेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने डा. घिमिरेको भनाइ छ ।

के हो स्क्रब टाइफस ?

मुसामा देखिने किर्नाजस्तो किराले टोकेमा यो रोग मानिसमा सर्ने गरेको चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार जीवजन्तुबाट घाँसपात तथा झारमा झरेको किर्ना मानिसमा सर्ने र त्यसले टोकेमा यो रोग सर्ने गर्छ ।

सुरुकै अवस्थामा यो रोगको उपचार गरिए सामान्य औषधिले निको हुन्छ । रगतमा यसको संक्रमणको मात्रा बढ्दै गएपछि यसले मिर्गाैला र कलेजोमा प्रभाव पार्छ भने श्वासप्रश्वासमा पनि समस्या देखिन्छ । यसको उपचारमा ढिलो भयो भने बिरामीको ज्यान जान सक्ने सम्भावना बढी हुन्छ ।

स्क्रब टाइफस हुँदा धेरै ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखा रातो हुने, झाडापखला लाग्ने, शरीरमा दाद देखिने, शरीरका मुख्य अंगहरूले काम गर्न छाड्ने र कडाखालको श्वासप्रश्वास समस्या देखिन्छ । हालसम्म जिल्लामा सबैभन्दा बढी बेनी नगरपालिकामा १८ जनामा स्क्रब टाइफसको सङक्रमण देखिएको छ । त्यस्तै रघुगंगा २, अन्नपूर्णमा ३, मंगलामा ११, मालिकामा ३ र धवलागिरि गाउँपालिकामा १ जनामा स्क्रब टाइफसका बिरामी देखिएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

‘कोरोना संक्रमणको जोखिमसँगै जिल्लामा अहिले डेंगु र स्क्रब टाइफसको जोखिम पनि देखिएको छ, यसको रोकथाम र नियन्त्रण गर्न सबै स्थानीय तहलाई आग्रह गरेका छौं ।’ बेनी अस्पताल विकास समिति म्याग्दीका अध्यक्ष बेलबादुर कटुवालले भने । उनका अनुसार अस्पतालमा स्क्रब टाइफस जाँच गर्ने किट सकिएको छ । प्रदेश सरकारलाई ताकेता गरिएको भएपनि अझैसम्म किट पाउन नसकिएकाले बिरामीलाई समस्या भइरहेको उनको भनाई छ । रासस

कमेन्टहरु
Loading...