कमल सुवेदी, पोखरा । सहारा खेलकूद पत्रकारिता पुरस्कार–२०७६ बाट कान्तिपुर टेलिभिजनका संवाददाता इन्द्र पौडेल सम्मानित भएका छन । क्लबको २२ औं वार्षिकोत्सवका अवसरमा पत्रकार पौडेललाई नगद २० हजार ५ सय, ताम्रपत्र तथा दोसल्लाले सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सहारा क्लब पोखरा खेलकुदको पर्याय शब्द रहेको बताए । गण्डकी प्रदेशको खेल विकासको लागि सरकारी निकायसँग खेलकर्मी बसेर छलफल गर्दै अघि जानुपर्ने गुरुङको भनाइ छ ।
त्यस्तै क्लबका संस्थापक अध्यक्ष बसन्त थकालीले सरकारले खेल क्षेत्रमा लगानी गर्न नसकेको बताए । सोही अवसरमा सहारा एकेडेमीलाई लायन्स क्लब अफ पोखरा लेकसाइडले नगद १० हजार सहयोग गरेका छन् ।
क्लबका सल्लाहकार एवं अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित ७ सदस्यीय प्रतिभा छनोट समितिले पौडेललाई छनोट गरेको हो ।
क्लबले प्रत्येक वर्ष पत्रकारिताको माध्यमबाट खेलकूदको विकासमा योगदान पु¥याउने र विशेषगरी खेलकूद बिटलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ । पौडेल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव तथा खेलकूद पत्रकार मञ्च गण्डकीका सदस्यसमेत हुन् ।
यसअघि सो पुरस्कारबाट पोखराका १४ जना क्रियाशील पत्रकार एवं सञ्चारकर्मी पुरस्कृत भइसकेका छन् ।
क्लबले सोही वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अवसरमा क्लबका सदस्य प्रकाश रानालाई समेत सम्मान गरेको छ । कार्यक्रममा सम्मानित पत्रकार इन्द्र पौडेल, क्ल्बका अध्यक्ष केशव बहादुर थापा लगायतले आफ्नो भनाइ राखेका थिए ।