संविधानसभा निर्वाचनको प्रभाव फिल्ममा

पोखरा, २२ कात्तिक / राजनीति र रंग क्षेत्र आपसमा त्यति सम्बन्धित छैनन् । तर चुनावको प्रभावले फिल्मको व्यापारलाई समेत अछुतो राखेन । देश संविधान सभाको दोस्रो निर्वाचनमा होमिएको बेलामा विदेशीसंगै नेपाली फिल्मको व्यापारमा पनि प्रत्यक्ष असर परेको छ । चुनावकै कारण हप्तैपिच्छे चारवटासम्म रिलिज हुने नेपाली फिल्म उद्योगमा यो हप्ता फिल्म नआउने पक्कापक्की भएको छ ।

व्यापारमा प्रत्यक्ष असर पर्ने देखेपछि चुनाव नहोउन्जेल हलसम्म आफ्नो फिल्म ल्याउन निर्माताहरु रोकिएका हुन् । उसै त फिल्मले राम्रो व्यापार नगरिरहेको अवस्थामा चुनावमा उनीहरुले फिल्म प्रदर्शनमा ल्याएर रिस्क लिन चाहेनन् । त्यसैमाथि नेकपा–माओबादीको बन्द हल्लाले पनि फिल्म रिलिजका नगर्नका लागि निर्माताहरुलाई प्रभाव पा¥यो । चुनावले अहिले प्रदर्शनरत फिल्मको व्यापारमा पनि प्रभाव पारेको छ ।

हलमा अघिपछि भन्दा निकै कम दर्शक देखिन थालेका छन् । प्रदर्शनरत फिल्महरु ‘काली’, ‘विन्दास २’, ‘मधुमास’ र बलिउड फिल्म ‘क्रिश ३’को व्यापार राम्रो नरहेको हलवालाहरुले बताएका छन् । यो हप्ता रिलिज हुने भनिएको फिल्म ‘सकिन भुल्न तिमीलाई’ पनि प्रदर्शन नहुने लगभग पक्कापक्की जस्तै छ । वितरक नरेन्द्र महर्जनका अनुसार चुनाव पुर्व कुनै फिल्म रिलिज हुने छाँटकाँट छैन । फिल्म रिलिज नहुँदा उद्योगलाई लाखौँ रुपैँया बराबरको घाटा हुने निश्चित छ ।

चुनावको बिचमा फ्लोरमा समेत कुनै फिल्म जाने छैनन् । यसैका कारण धेरै संख्यामा कलाकार र प्राविधिकहरु बेरोजगार बन्ने निश्चित छ भने हलहरुमा व्यापार नहुने कारणले उनीहरुलाई थप समस्या हुनेछ । मंसिर ४ मा हुने चुनावका लागि कतिपय फिल्मकर्मीहरु पनि खुलेरै लागेका छन् भने केहिले सभासद्का लागि उम्मेदवार समेत दिएका छन् । फिल्मकर्मीहरुलाई चुनावकै कारण ठुलो घाटा हुने भएपनि उनीहरु चाहन्छन्–‘चुनाव शान्तिपुर्ण रुपमा होस् ।’

कमेन्टहरु
Loading...