कास्की २ मा एमालेको अगुवा कार्यकर्ता प्रशिक्षण

पोखरा, २२ कात्तिक/नेकपा एमालेको भातृसंगठन नेपाल बुद्धिजीवी परिषद् र क्षेत्र नं. २ को निर्वाचन परिचालन कमिटीको संयुक्त आयोजनामा शुक्रबार पोखरामा एमालेका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संविधानसभाको निर्वाचन किन, केका लागि र यसको औचित्य र चुनौती विषयमा भएको प्रशिक्षण कार्यक्रममा परिषदका जिल्ला उपाध्यक्ष राजेन्द्र चापागाईंले सम्बन्धित विषयमा सैद्धान्तिक र व्यवहारिक पक्षबारे प्रकाश पारेका थिए । उनले संविधानसभाको निर्वाचन भौतिक विकासका लागि मात्र नभै युगौँयुगसम्म प्रभावित पार्ने संविधान लेखनका लागि भएको भन्दै योग्य र बौद्धिक व्यक्तित्वलाई निर्वाचित गरी बहुपहिचानसहितको संघीयतामा सबै जाति, वर्ग र लिड्डका अधिकारलाई सुनिश्चित गर्नका लागि भएको बताए । यसका लागि जनतालाई सुसूचित गराउन सम्पूर्ण अगुवा कार्यकर्ता आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा बुद्धिजीवी कमिटी क्षेत्र नं. २ का संयोजक बालकृष्ण पौडेल र कृष्ण तिमिल्सेनाले पनि जनतालाई चनाखो बनाउन अगुवा कार्यकर्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा तोयनाथ गौतम, गंगा कुँवर, पवित्रा गुरुङ, चन्द्रबहादुर गुरुङ, तोयनाथ लामिछानेलगायतले स्थानीय मुद्दामा केन्द्रित आ–आफ्ना विचार व्यक्त गरेका थिए । प्रमुख अतिथि एमालेका समानुपातिक उम्मेदवार गजकुमारी गुरुङले पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बन्दाका आफ्ना अनुभव सुनाउँदै विगतका कमीकमजोरीबाट पाठ सिक्नुपर्ने बताइन् । आगामी निर्वाचनमा कास्कीका चारवटै निर्वाचन क्षेत्रका एमाले उम्मेदवारले चुनाव जित्ने दाबी गर्दै यसका लागि कार्यकर्ताहरु संकल्पसहित सचेतनाका लागि निरन्तररुपमा जनताको घरदैलोमा पुग्नुपर्ने सुझाव दिइन् । लीलाधर अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन सन्तोष सिग्देलले गरेका थिए ।

कमेन्टहरु
Loading...