सिन्धुपाल्चोक । घुम्थाङ भिरखर्क–नागपुजे पहिरोपीडितका लागि दाताहरुले राहत लिएर आउने क्रम शुरु भएपछि बाह्रबिसे नगरपालिकाले विषम परिस्थितिको ख्याल गर्दै भीड जम्मा गरेर आफूखुशी राहत नबाँड्न सार्वजनिक अपिल गरेको छ । स्वास्थ्य सुरक्षाको ख्याल गर्दै एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भन्दै बाह्रबिसे नगरपालिकाले दाताहरुलाई नगरपालिकासँग समन्वय गर्न आग्रह गरेको हो ।
कोरोना भाइरसको जोखिमका कारण भीडभाड गर्न नहुने, भौतिक दूरी कायम गर्नुपर्नेजस्ता स्वास्थ्य मापदण्ड पालना गरेर पहिरोपीडितलाई नगरपालिकाले राहत उपलब्ध गराउने बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए ।
एकद्वार प्रणालीमा पहिरोपीडितका आश्रयस्थलमा राहत पुर्याउने नीतिअनुरुप समन्वयका लागि दाताहरुलाई आग्रह गरिएको उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिए । बाह्रबिसे नगरपालिकाले आइतबार साँझ नै पीडितको अस्थायी बासका लागि ४५ थान टेन्ट नागपुजे पुर्याएको छ । पीडित विस्थापितलाई टेन्टमा राखिएको छ ।
रासस