पोउमनपाको आम्दानी ३३ प्रतिशतले बृद्धि

पोखरा, २२ कात्तिक/पोखरा उपमहानगर पालिकाले पहिलो चौमासिक महिनामा अघिल्लो बर्षको तुलनामा ३३ प्रतिशत आन्तरिक आम्दानी बृद्धि गरेको छ । यसका अलावा पोखरा उपमहानगर पालिकाले आर्थिक बर्षको पहिलो चार महिनामा केन्द्रिय अनुदान पनि अघिल्लो बर्ष भन्दा करिब २ करोड रुपैया प्राप्त गरेको छ । यो पनि झण्डै ३३ प्रतिशत बढी हो ।आर्थिक बर्ष २०७०÷०७१ को पहिलो चौमासिकको समिक्षा बैठकमा पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले सो तथ्याङ्क प्रस्तुत गरेका थिए । बैठकमा पहिलो तीन महिना १५ दिनमा ६ करोड १५ लाख रुपैया आन्तरिक भएको उल्लेख गरेका थिए । अघिल्लो बर्ष यो रकम २ करोड रुपैयाले बढी हो । त्यस्तै केन्द्रिय सरकारले दिने अनुदान गत बर्ष पहिलो चौमासिकमा करिब ४ करोड रुपैया मात्र थियो भने यस बर्ष करिब ६ करोड १८ लाख रुपैया पाएको छ । यो रकमबाट पोखराको पूर्वाधार विकास, सर सफाइ, मर्मत सम्हारमा खर्च गरिएको कार्यकारी अधिकृत अधिकारीले बताए ।

पहिलो चौमासिकको अवधिमा पोउमनपाले प्रशासनिक खर्च तर्फ ३ करोड ४१ लाख रुपैया खर्च गरेको छ भने करिब १० करोड रुपैया पूजीगत खर्च गरेको छ । पोउमनपाले चालु आर्थिक बर्षमा २५ करोड रुपैया आन्तरिक रुपमा आम्दानी गर्ने लक्ष्य १७ औं नगर समितिले लिएको थियो । सोही अनुसार प्रगति भएको कार्यकारी अधिकृतले बताए । समिक्षा बैठकमा पोखरा उपमहानगर पालिका कर्मचारी सहित समाजका विभिन्न क्षेत्रका अगुवाहरुको सहभागिता थियो ।

उनीहरुले पोखरा उपमहानगर पालिकाले पछिल्लो समयमा पारदर्शी ढंगले काम गरेको भन्दै प्रशंसा गरेका थिए । समिक्षा बैठकमा कार्यकारी अधिकृत अधिकारी सहित गैर सरकारी सस्था महासंघ कास्कीका अध्यक्ष कृष्ण बराल, नागरिक अगुवाहरु रामबहादुर पौडेल, शिवप्रसाद गौतम, रमेशराज अधिकारी, सुरज गौतम, सुरेश मानन्धर, सिता गुरुङ, किरण भट्टचन लगायतले भनाई राखेका थिए ।

कमेन्टहरु
Loading...