पोखरा । नेपालमा थप १ हजार ३९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालमा थप १ हजार ३९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५४ हजार १ सय ५९ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार १ सय १७ रहेको छ ।
पछिल्लो २४ घण्टाको अवधीमा ९ हजार १ सय ६५ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ७३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ३८ हजार ६ सय ९७ पुगेको छ । हाल नेपालमा २३ जनाको भेन्टिलेटर तथा १ सय ६९ जनाको आइसियुमा राखेर उपचार भइरहेको छ ।
नेपालमा मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, ललितपुर तथा रुपन्देही जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । त्यस्तै कोरोनामुक्त जिल्लाहरुमा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु तथा हुम्ला जिल्ला रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ९ जनाले ज्यान गुमाएका छन् ।
कास्की सहित काठमाडौं तथा मोरङका गरेर ९ जनाले कोरोनाबाट पछिल्लो समय ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये ३ महिला तथा ६ जना पुरुष हुन् । कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने महिलामा कास्कीकी ४५ वर्षीय सहित मोरङकी ६९ वर्षीय तथा काठमाडौंकी ६५ वर्षीय महिला रहेकी छिन् ।
त्यस्तै ज्यान गुमाउने पुरुषमा मोरङका ६९, काठमाडौंका ५९ वर्षीय २ जना सहित ७०, ६४ वर्षीय पुरुष रहेका छन् । त्यस्तै सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुषको समेत कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । यससंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ४५ पुगेको छ ।