काठमाडौं । विश्वभरि फैलिएको कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिमा बहराइनका लागि नेपाली राजदूतावासले नेपाल फर्कन चाहने १ सय ४६ जना नेपालीलाई विमान चार्टर गरेर नेपाल ल्याएको छ । कम्पनी बन्द भएर र श्रम सम्झौता सकिएर नेपाल फर्किने इच्छुक कामदारलाई स्वदेश फर्काइएको हो ।
राजदूतावासले बिदामा बहराइनबाट नेपाल आएपश्चात् फैलिएको कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान स्थगित भई नेपालमै रोकिएर पुनः रोजगारीमा बहाल हुन बहराइन जान इच्छुक १ सय ४५ जना नेपालीलाई पहिलो पटक बहराइन फर्काएको राजदूत पदम सुन्दासले जानकारी दिएका छन् । ‘हाम्रो साथ आमाको काख’ अभियानको सहयोगमा उहाँहरु बहराइन फर्किनुभएको हो ।’ उनले भने ।
बहराइनका लागि नेपाली राजदूतावासले गत हप्ता अन्तर्राष्ट्रिय उडान स्थगित भई नेपालमै रोकिएर पुनः रोजगारीमा बहाल हुन बहराइन जान इच्छुक २ सय ७४ नेपालीको नामावली सार्वजनिक गरेको थियो । राजदूत सुन्दासले भने, ‘कोरोना सुरु भएपछि सानो लगानीका होटल, रेस्टुरेन्ट बन्द भए, १ हजार ३ सय नेपालीले रोजगारी गुमाएका छन्, हामीले समस्यामा परेकालाई अप्रिल महिनामै नेपाल जान चाहनेलाई पठाएका थियौं ।’
छुट्टीमा नेपाल फर्किएका ९ सय २७ जनामध्ये १ सय ४५ पुनः रोजगारीमै बहराइन फर्किएका छन् ।
नेपाल फर्किन चाहने ३ सय नेपालीमध्ये गत बिहीबार १ सय ४६ फर्किएका हुन् । बाँकी नेपाल फर्किन इच्छुक र नेपालबाट पुनः रोजगारीमा बहराइन फर्किन इच्छुकलाई विमान चार्टर गरेरै नेपाल ल्याउने र बहराइन जान चाहनेलाई लैजाने योजना रहेको राजदूत सुन्दासको भनाइ छ । रासस