बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध

काठमाडौं । वर्षासँगै आएको बाढीले चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित हरिपुर खोलामा बनाएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको छ । १ महिनाअघि मात्र निर्माण गरिएको डाइभर्सन गए रातिको वर्षासँगै आएको बाढीले बगाएको हो ।

गत साउन ११ गते आएको बाढीले झण्डै २ दशकअघि बनाइएको हरिपुर खोलाको मोटरेबल पुल बगाएपछि गाउँपालिकाले ८ दिन लगाएर डाइभर्सन निर्माण गरी अस्थायीरूपमा सडक सञ्चालन गरेको थियो । बाढीले डाइभर्सन बगाएपछि स्थानीयवासीलाई गाउँपालिका कार्यालय कुरिनटार र सदरमुकाम भरतपुर जान कठिनाइ भएको छ ।

इच्छाकामना–७ अन्तर्गत खेतबारी, स्याङ्दी, सिमलढाप, गर्दास लगायत नागरिक सदरमुकाम भरतपुर र गाउँपालिका केन्द्र कुरिनटार आउजाउ गर्ने गर्थे ।

सो सडक अवरुद्ध भएपछि त्यस भेगका करिब ३ हजारभन्दा बढी नागरिकलाई आउजाउ गर्न असुविधा भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताइन् । उनका अनुसार उक्त सडक भएर दैनिक ३ सयभन्दा बढी मोटरसाइकल र १ सयभन्दा बढी साना–ठूला गाडी चल्ने गर्छन् । रासस

कमेन्टहरु
Loading...