पोखरा । नेपाली कांग्रेस कास्कीले बुधबार पार्टीका संस्थापक स्व. विपी कोइरालाको १ सय ७ औं जन्मजयन्ती मनाएको छ । पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाट, नेता शुक्रराज शर्मा, कास्की कांग्रेसका सभापति कृष्ण केसी, नेता सोभियतबहादुर अधिकारी, प्रदेशसभा सदस्य विन्दुकुमार थापा, कांग्रेस पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ र पोखरा ४ का वडाध्यक्ष शंकर बास्तोलाले पोखराको विपी चोकस्थित विपीको शालिकमा माल्यार्पण गरी कार्यक्रम शुभारम्भ गरिएको थियो ।
त्यस अवसरमा नेता शुक्रराज शर्माले विपीका सिद्धान्तलाई सबै दल र नेताहरुले पछ्याइरहेको उल्लेख गरे । कास्की कांग्रेसका सभापति कृष्ण केसीले बाढीपहिरो प्रभावित परिवारको साथ रहेर विपी जयन्ती मनाइएको उल्लेख गरे ।
कास्की कांग्रेसले कास्कीका बाढीपहिरो प्रभावित ३० परिवारलाई आर्थिक सहयोग गरेको कास्की कांग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । हेम्जा, सराङकोट, कास्कीकोट, पोखरा २६, २७, लाहाचोक, मादी ८ रवैडाडाँ, पोखरा ११ काहुँ, पोखरा २८ सौर्य र ल्वाङका बाढीपहिरो प्रभावित परिवारलाई आर्थिक सहयोग गरिएको हो ।
कास्की कांग्रेसले पोखरा २७ अर्घाैचोकस्थित घरेलुचौरमा आयोजना गरेको कार्यक्रममा कास्की कांग्रेसका पूर्वसभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले आर्थिक सहयोग हस्तान्तरण गरेका थिए । कार्यक्रममा पूर्वसभापति थापाले जनताका सुख र दुःखमा कांग्रेस सदैव संगै रहेको बताए । कास्की कांग्रेसका सचिव सुदीपमोहन भट्टराई र देवेन्द्र रानाभाटले संस्थापक कोइरालाको बहुआयामिक व्यक्तित्वको चर्चा गरे ।
नेपाली कांग्रेस क्षेत्र नं १ कास्कीका सभापति बिर्जमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य राजेन्द्रमणि लामिछानेले स्वागत र नेपाली कांग्रेस पोखरा २७ का सचिव विश्वराज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।