रिना थापा
शनिबार बिहान पोखरा बगरनिवासी कमलमोहन आचार्यको घडिमा बिहानको साढे ९ बजेको थियो । बिदाको दिन भएकाले परिवारसँग समय बिताउने योजनामा थिए, आचार्य । तर त्यत्तिकैमा उनको मोबाईलमा आएको म्यासेजले उनी बिथोलिए । मनै सिरिङ पार्ने म्यासेज थियोे स्वास्थ्य निर्देशनालय पोखराकोे । उनलाई कोरोना पोजिटिभ भएको थाहा भयो ।
आचार्य दुविधामा परे । न उनको आफ्नो ट्राभल हिस्ट्री थियो न त कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । ‘कसरी संक्रमण भयो म आफै अचम्मित छु’ उनले गन्थनसँग आश्चर्य प्रकट गरे ।
कुनै त्यस्तो लक्षण नदेखिएकाले स्वास्थ्य निर्देशनालयबाट अस्पताल वा उनलाई आइशोलेशनमा भने जानु नपर्ने कुरा भयोे । तरपनि दुई छोरासहित श्रीमतीसँग बस्ने भएकाले आचार्य होम आइशोलेशनमा बस्ने सम्भावना देखिएन । उनलाई रेशम कृषि मालेपाटनमा बनाइएको क्वारेन्टिनमा लगियो । परिवारका सदस्यलाई पनि सुरक्षित सेल्फ क्वारेन्टिनमा राखिएको छ ।
कोरोना संक्रमण पुष्टि भइसकेपछि फोन र म्यासेजमार्फत परिवार, इष्टमित्रले नआत्तिन हौसला दिइरहेका छन् । सोही कारण आफुलाई कोरोना संक्रमण भए पनि स्वस्थ रहेको भन्दै फेसबुकबाट आचार्यले सबैलाई जानकारी गराउने साहस गरे । ‘यसमा लुकाउने कुरा केहि छैन, यसलाई बढी हाउँगुजी बनाइयो’ उनी भन्छन् ।
‘यति सर्तकता अपनाउँदा त म संक्रमित भए एकदिन सबै संक्रमित भइन्छ तर सामान्य मौसमी रुघाखोकी रहेछ, आत्तिनु पर्दैन’ उनले फोनमा आत्मविश्वासका साथ बताए । सामान्य मौसमी रोगलाई भयंकर सोचेर नियमित कामकान नै ठप्प पार्नुपर्ने स्थिति आफुलाई नलागेको बताएपनि उनले यो रोगलाई हेलचेक्र्याई भने गर्न नहुने सुझाव दिए ।
आचार्य आफूसँग भएको सकारात्मक सोच र उच्च मनोबलले कोरोना जित्छु भन्नेमा ढुक्क छन् ।
यसो भन्दै गर्दा आचार्य करीब १५ दिन अघिको समय सम्झन थाले । उनी आफनो गाउँ अर्मला गएका रहेछन् । गाउमा हल्का गर्मी रहेछ । एकछिन घरबारीको काम गरे । त्यहीँ साँझ उनलाई हल्का ज्वरो आयो ।
उनलाई लाग्यो दिनभर घाममा काम गर्नाले शरिरले सहन सकेन । त्यसको केहि दिनसम्म उनलाई साँझमा मात्र ज्वरो आउने भइरह्यो । त्यतिबेलासम्म पनि उनले कोरोना लाग्यो होला भनेर ध्यान दिएनन् ।
घरमै कफ सिरफ र सिटामोल खाए । त्यसपछि उनको अवस्था सामान्य थियो । एकदुई दिन ज्वरो र खोकी देखिएकै कारण उनले भदौ १७ गते स्वाब परीक्षण गराए ।
तर उनमा कोरोना लाग्ला भन्ने रत्तिभर शंका थिएन । स्वाब दिएपछि छुट्टै बसेनन् । डाँफे बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशकसमेत रहेका उनी नियमित आफनो काममा गइरहे । अहिले उनलाई बेग्लै नबसेकोमा नरमाइलो महसुस हुन्छ ।
‘यतिबेला मेरा सहकारीका साथीहरु डराउनुभएको छ तर डराउनु आवश्यक छैन म सामान्य छु र ख्याल गरे रोगपनि सामान्य नै हो, लागिहाले जितिन्छ आत्तिनुपर्दैन’ उनले साथीहरुलाई हामीमार्फत आग्रह गरे ।
कोरोना संक्रिमतलाई समाजले हेर्न दृष्टिकोणलाई चिर्दै उनले सामाजिक सञ्जालमा फोटो पोस्ट गरे । ‘कोरोना छिट्टै जितेर फर्कन्छु’ उनले दृढनिश्चयी हुँदै भने ।