बाग्लुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा आएको बाढीमा परी फेला परेका १४ मध्ये ७ जनाको पहिचान भएको छ । बाढीमा परेका अझै २४ जना बेपत्ता छन् । बुधबार राति ढोरपाटनको देउराली छेउको पहाड खसेर खोला थुनिएर फुटेपछि भुजीखोलामा भीषण बाढी आएको थियो ।
बाढीमा बेपत्ता १४ जनाको शव फेला परेको छ । सो घटनामा ७० घर पूर्ण क्षतिग्रस्त भएका छन् ।
ढोरपाटन– ९ का २६ वर्षीया केशमाया विक, ४६ वर्षीय करबहादुर विक, २२ वर्षीय जीवन विक, ११ वर्षीय डल्ली विक, २१ वर्षीय डिलमाया पुन, ३५ वर्षीय रिनाकुमारी घर्ती र ३२ वर्षीया करमती बुढाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिएका छन् ।
अन्य ७ शवको अझै सनाखत हुन सकेको छैन । शव क्षतविक्षत अवस्थामा रहेका कारण पहिचानमा ढिलाई भइरहेको प्रहरीको भनाइ छ । बाढीले ७० भन्दा बढी घरमा क्षति पु¥याएको छ । बाढीमा परेका ४ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । तीमध्ये गम्भीरावस्थामा रहेका ढोरपाटन –९ का महेन्द्र पुनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको छ ।
बाढीले ढोरपाटन–९ स्थित लाँकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्रावि, सरस्वती प्रावि, भुजीखोला लघुजलविद्युत् आयोजनाका ५ शाखामध्ये ४ भवन, सडक छेउमा पार्किङ गरेर राखिएको १ जीप र मोटरसाइकल बगाएको छ । रासस