पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिका माध्यमबाट स्थानीयवासीको जीवनस्तर उकास्ने लक्ष्यका साथ २ हजार ५ सय घरधुरीमा ५० प्रतिशत अनुदानमा हिउँदे तरकारीको बीउ वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई त्याग्दै आधुनिकीकरणमार्फत स्थानीयवासीलाई उत्पादनसँग जोड्न ९ जातका हिउँदे तरकारीको बीउ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिएका छन् । उनका अनुसार गाउँपालिकाले कृषकलाई मार्फा चौडा पाते रायो, मूला (मिनुअर्ली र चालिसे), सिमी, पालुंगो, धनियाँ, काउली, बन्दा र केराउको बीउ अनुदानमा उपलब्ध गराएको हो । यसअघि अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाभित्रका जमिनमा उत्पादन हुन सक्ने कृषिजन्य वस्तुको पहिचानका लागि यहाँका ११ वटै वडामा माटो परीक्षण गराइएको थियो । गाउँपालिकाले उत्पादन र उत्पादकत्व वृद्धि गर्दै स्थानीयवासीलाई आत्मनिर्भर बनाउनका लागि फलफूललगायत बिरुवा पनि वितरण गर्दै आएको छ । रासस
