काठमाडौं । कोभिड– १९ को महामारीबीच १० महिनादेखि बन्धक ३ नेपाली चेलीको भारतबाट उद्धार गरी ल्याइएको छ । आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका १ बालिकासहित ३ नेपाली चेलीलाई उद्धार गरिएको हो । नवलपरासी पश्चिमस्थित आफन्त नेपाल महेशपुर शाखाले नेपाल र भारतीय प्रहरी तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित १ आर्केष्टा कम्पनीबाट ती नेपाली चेलीहरुलाई उद्धार गरी नवलपरासी ल्याएको हो ।
चितवनका २२, १७ र ४ वर्षका ती चेलीलाई उद्धार गरी सुरक्षित रुपमा नेपाल ल्याइएको संस्थाकी शाखा प्रमुख पद्मा आचार्यले जानकारी दिएका छन् । जागिर तथा विवाहको प्रलोभनमा परी उनीहरु भारत पुगेका थिए । त्यहाँ पुगेको केही महिनापछि आर्केष्टा कम्पनीका मालिकले आफूहरुलाई बेचबिखन गर्न लागेको थाहा पाएपछि प्रतिकार गरी परिवारलाई जानकारी गराएको उद्धार गरिएका युवतीले बताएका छन् ।
उद्धार गरिएकामध्ये २२ वर्षीय महिलालाई भारतमै काम गर्दै आएकी उनकी बहिनीको मोबाइलबाट १ व्यक्तिले विवाह गर्छु भनी बोलाएका थिए । तर उनकी बहिनी अहिले बेपत्ता छिन् । अर्की १ युवतीलाई पनि जागिर लगाइदिने प्रलोभन देखाएर बोलाएको तर १ महिनापछि भारतको विहारका तीन जना व्यक्तिलाई १ लाखमा बिक्री गर्न लागेपछि आफूहरुले प्रतिकार गरेको भनी युवतीले बयान दिएको आफन्त नेपाल महेसपुरकी प्रमुख आचार्यले बताए ।
४ वर्षीया बालिका भने २२ वर्षीय महिलाकी छोरी हुन् । विदेशमा रहेका आफ्नो दाजुलाई फोनमार्फत् जानकारी गराएपछि युवतीका आफन्तहरुले चितवनस्थित आफन्त नेपालको माडी शाखामा खोजतलासका लागि निवेदन दिएपछि खोजी कार्य सुरु भएको थियो । रासस