पोखरेली युवा तथा व्यवसायी बंगुरपालनमा आकर्षित हुँदै

पोखरा । कोरोना भाइरसका कारण व्यापार व्यवसाय प्रभावित भएपछि पोखरेली युवा व्यवसायी बंगुरपालनमा आकर्षित भएका छन् ।

‘युवा व्यवसायीबीच साथ, सहयोग र सहकार्यका लागि’ भन्ने मूल उद्देश्यका साथ एक वर्षअघि स्थापित युथ कम्युनिटी क्लब कास्कीले मित्रता इन्भेष्टमेन्ट कम्पनी मार्फत मित्रता एग्रो प्राली स्थापना गरी पोखरामा बंगुरपालन थालेको हो । उनीहरूले पोखरा महानगरपालिका वडा नं ३३ शहरेतरास्थित पिगपार्कमा चार हजार ७ सय ६० स्क्वायर फुट क्षेत्रफलमा बंगुरपालन शुरु गरेका हुन् ।

क्लब पोखरामा आवद्ध युवा व्यवसायी सम्मिलित भई ८४ लाखको लगानीमा बंगुरपालन सुरु गरिएको मित्रता एग्रो प्रालिका निर्देशक जयन्ती मोक्तानले बताइन् । लामो समयको बन्दाबन्दीका कारण आफूहरुको व्यवसाय नै धरापमा परेका कारण धेरै थोरै रकम संकलन गरी कृषिजन्य वस्तुको उत्पादन र बिक्री वितरणबाट दिगो विकास सम्भव हुने देखेर युवालाई कृषितर्फ उन्मुख गराउन पहिलो चरणमा बंगुरपालन सुरु गरिएको मोक्तानले बताएकी छिन् ।

बिसदेखि ४५ वर्ष उमेर समूहका युवालाई क्लबमा आवद्ध गराई मित्रता एग्रो प्रालीमा सेयर हाल्न सकिने भएकाले कुनै पनि युवाले सानो लगानीमा कृषि कार्यक्रममा सहभागिता जनाउन सक्ने उनको भनाइ छ ।

हाल १ सय १५ जना युवा व्यवसायीबाट बंगुरपालन सुरु गरिएको भए तापनि निकट भविष्यमा तरकारी उत्पादन, कृषि, पशुपंक्षीजन्य सामग्रीको उत्पादन र बिक्री वितरण गर्ने लक्ष्य प्रालीले दिएको निर्देशक मोक्तानले जानकारी दिएकी छिन् ।

युथ कम्युनिटी क्लबले युवालाई स्वदेशमा नै उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने क्बलका अध्यक्ष पूर्ण श्रेष्ठले बताएका छन् । क्लब स्थापनाको १ वर्षभित्रै त्यसमा पनि बन्दाबन्दीको समयमा आफूहरुले बंगुरपालन सुरुआत गरेको उल्लेख गर्दै उनले आगामी ५ वर्षभित्रमा कास्कीमा मात्र १० हजार सदस्यता वितरण गर्ने योजना रहेको बताए ।

उनका अनुसार क्लबमा आवद्ध हरेक सदस्यले इन्भेस्टमेन्ट कम्पनीमार्फत सञ्चालनमा आएको एग्रो प्रालिमा सेयर राख्न पाउने छन् । पोखरामा स्थापित युथ कमिटी क्लबले ५ वर्षभित्र नेपालको ७ वटै प्रदेशमा शाखा विस्तार गरी हरेक प्रदेशमा उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै जाने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

हाल क्लबमा ३ सय ५० जना सदस्य रहेको भए तापनि एग्रोमा भने १ सय १५ जनाले सेयर राखेका छन् । अन्य सदस्य समेत थपिँदै गइरहेको जाकारी दिँदै क्लबका कोषाध्यक्ष विकास गुरुङले क्लबमा आवद्ध सदस्यले २५ हजारदेखि १ लाख रुपैयाँसम्म सेयरमार्फत लगानी गर्नसक्ने बताएका छन् ।

रासस

कमेन्टहरु
Loading...