सरकारले संक्रमण समुदायमा फैलिएको बारे अध्ययन गर्ने, तेस्रो चरणमा प्रवेशको खतरा

काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड–१९ को संक्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले समुदायमा फैलिएको हो वा होइन भन्ने अध्ययन गर्न थालेको हो ।

नेपाल अहिले संक्रमणको दोस्रो चरणमा रहेको छ । संक्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ । गत चैतमा विदेशबाट कैलाली घरमा आएका १ जनामा व्यक्तिबाट घरकै रहेका अर्को स्थानीय व्यक्तिमा संक्रमण सरेपछि मन्त्रालयले नेपालमा दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको थियो । संक्रमणको तेस्रो चरण भनेको समुदायमा संक्रमण फैलिएको भन्ने हो ।

महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले अहिले ठूलो संख्यामा सबैमा संक्रमण देखिन थालेपछि समुदायमा नै संक्रमण फैलिएको कि भनेर अध्ययन गर्न थालिएको जानकारी दिएका छन् । यसअघि गत जेठ महिनामा महाशाखाले काठमाडौं उपत्यकामा पनि समुदायस्तरमा संक्रमण फैलिएको छ वा छैन भनेर अध्ययन गरेको थियो । सो अध्ययनले उपत्यकामा समुदायस्तरमा संक्रमण नफैलिएको बताएको थियो । त्यतिबेलाभन्दा अहिले काठमाडौं उपत्यकामा संक्रमण दर बढिरहेको छ । हिजोमात्र ४ सय ८१ जनामा संक्रमण देखिएको थियो ।

‘संक्रमणको सूचक हेर्दा अहिले समुदायस्तरमा नै हो कि भन्ने देखाउँछ ।’ उनले भने, ‘अब अध्ययन गरेपछि मात्र समुदायमा संक्रमण छ वा छैनन् भन्ने पुष्टि गर्छ ।’ महाशाखाले विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा अध्ययन गर्न थालेको हो । अध्ययनका लागि महाशाखाले शुक्रबारसम्म कर्मचारी छनोट गर्ने र ती कर्मचारीलाई तालिम दिएर ७ वटै प्रदेशमा रगत संकलनका लागि पठाउने महाशाखा निर्देशक डा.पाण्डेले बताए ।

७ वटै प्रदेशमा संक्रमण बढी फैलिएका ठाउँमा गएर ६ हप्तादेखि कतै नगएका व्यक्तिको रगत संकलन गरिने छ । महिला, पुरुष, बालबालिका र वृद्धा सबैको एन्टिबडी परीक्षण गरिनेछ । एलाइजा विधिबाट एन्टिबडीको परीक्षण गरी नेपालमा समुदायस्तरमा फैलिएको छ वा छैन भन्ने पत्ता लाग्नेछ । ७ वटै प्रदेशबाट संकलन भएको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिनेछ । रासस

कमेन्टहरु
Loading...