काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा ५ दिनको अन्तरालमा आमा छोराको ज्यान गएको छ । ललितपुरमा रहेको पाटन अस्पतालमा मंगलबार राति ९ बजेको समयमा ४० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो । १५ दिन अगाडि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार जारी राख्दा मध्यपुरथिमी नगरपालिका ७ का उनको पाटन अस्पतालमा ज्यान गएको हो । ५ दिन अगाडि उनकी ६२ वर्षीय आमाको समेत कोरोना भाइरसको संक्रमणबाट पाटन अस्पतालमा नै ज्यान गएको थियो । ४० वर्षीय पुरुषलाई संक्रमण भए पछि परिवारको नै स्वाब संकलन गरेर परीक्षण गर्दा आमालाई संक्रमण पुष्टि भएको थियो । उनको परिवारका अन्य ६ जनालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । परिवारका अन्य संक्रमित सदस्य भने होम आइसोलेसनमा नै रहेको बताइएको छ ।
