डा.रेग्मीको अभिव्यक्तिप्रति पोखरा चेम्बर अफ कमर्स कास्की अन्तर्गत पर्यटन विभागको आपत्ति

पाखरा । पोखरा चेम्बर अफ कमर्स कास्की अन्तर्गतको पर्यटन विभागले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले समग्र पर्वतीय पर्यटन क्षेत्रका व्यवसायीको अपमान हुने गरी दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेको छ ।

विभागले त्यस्ता अभिव्यक्तिलाई सच्याउन र पर्यटनको उच्च ओहोदामा बस्ने व्यक्तिलाई आगामी दिनमा पर्यटन व्यवसायीको मानमर्दन नगर्न सचेत गराएको छ । पर्यटन विभागका संयोजक रेशम अधिकारीले मंगलबार प्रेस विज्ञप्ति प्रकाशित गरी पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीको अभिव्यक्तिले पदयात्रा, हिमाल आरोहण लगायत पर्वतीय पर्यटन व्यवसायमा आशाको दियो पलाउनुको सट्टा निरासा छाएको प्रतिक्रिया दिएका छन् ।

विज्ञप्तिमा पर्यटन क्षेत्रमा लगनशील भई लगानी गरेका पर्यटन व्यवसायीको मनोभावना बुझ्नुपर्ने व्यक्तिले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै भत्र्सना गरिएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले गत भदौ १२ गतेको बिबिसी नेपाली सेवाको पर्यटन बहस कार्यक्रममा प्रर्वतीय पर्यटन क्षेत्रका व्यवसायीलाई लक्षित गरी झोले कम्पनीबाट काम गर्ने, राज्यलाई कर नतिर्ने तथा राज्यप्रति नगन्य योगदान रहेका भनी अभिव्यक्ति दिएका थिए ।

‘वर्तमान परिस्थितिमा कोभिड १९ को मारमा परेका पर्यटन व्यवसायीहरु सबैको मनोभावनालाई बुझेर बहस पैरवी गर्नुपर्ने व्यक्तिको अभिव्यक्तिले व्यवसायीको काटेको घाउमा झनै नुनचुक दल्ने काम गरेको छ ।’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विषम् परिस्थितिमा सकारात्मक सोंच र सबै वर्ग, व्यवसायी मजदुरको हक हितमा मलमपट्टी लगाउने खालको अभिव्यक्ति दिन सचेत गराउँछौं ।’ पोखरा चेम्बर अफ कमर्स कास्की पर्यटन विभागले पर्यटनको उच्च ओहोदामा रहने व्यक्तिलाई समय सान्दर्भिक अभिव्यक्ति दिन सचेत गराएको छ ।

कमेन्टहरु
Loading...