पृथ्वीराजमार्ग ३ दिनदेखि एकतर्फी

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–२ स्थित ऐनापहरा नजिक सुक्खा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग ३ दिनदेखि एकतर्फीपमा सञ्चालनमा आएको छ । गत शुक्रबार बिहान सडकभन्दा माथि डाँडाबाट सुक्खा पहिरोसँगै ठूलाठूला ढुंगा खसेपछि हटाउन नसक्दा एकतर्फी मात्रै सवारी सञ्चालनमा ल्याइएको हो ।

ठूला ढुंगा खसेर सडक अवरुद्ध हुँदा ठूला सवारीलाई आवतजावतमा समस्या भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिएका छन् । पहिरोले राजमार्ग अवरुद्ध भएलगत्तै २ वटा डोजर प्रयोग गरेर माटो पन्छाए पनि ढुंगा हटाउन नसक्दा समस्या आएको हो । उनले भने, ‘ढुंगा हटाएर दुई तर्फी सवारी साधन सञ्चालनमा ल्याउन पहल भइरहेको छ ।’

अवरुद्ध राजमार्ग १ घण्टाको अवधीमा पहिरो हटाएर एकतर्फी सवारीसाधान सञ्चालन गरिए पनि ढुंगा हटाउन नसक्दा दुई तर्फी गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिएका छन् ।

वर्षायामको समय उक्त क्षेत्रमा पटक–पटक पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरे पनि वर्षा नभएको समयमा समेत सुक्खा पहिरो खस्दा सर्वसाधारणले सहजरूपमा आवतजावत गर्न पाएका छैनन् ।

पुरिएको कुवा डेढ महिनापछि सञ्चालनमा

तनहुँको व्यासनगरपालिका–१ धुपखोलामा बाढीले पुरिएको खानेपानीको कुवा करिब डेढ महिनापछि शनिबारदेखि सञ्चालनमा ल्याइएको छ । गत असार अन्तिम साता परेको अविरल वर्षापछि खोलामा आएको बाढीले खानेपानीको कुवा ढुंगा र माटोले पुरिएको थियो ।

उक्त कुवाको पानी चिसो र मिठो रहेकाले विशेष गरी सुक्खा महिनामा सदरमुकाम दमौलीबाट समेत मानिस पानी लिन आउने गरेको स्थानीय भरत अधिकारीले बताए । पहिला–पहिला यस कुवाको पानी नै वडावासीले प्रयोग गर्दै आएको र अहिले घरघरमा पानीको धारा जडान भएपछि कहिलेकाहीं मात्रै पानी लिन आउन थालेको उनले जानकारी दिएका छन् ।

वनमा जाने, भदु्रडाँडा जाने र बटुवाले समेत उक्त पानी पिउने गर्ने भएकाले यसको संरक्षणमा स्थानीयवासीले जोड दिँदै आएका छन् । कुनै कारणवश खानेपानीको पाइपमा समस्या आएर धारामा पानी आएन भने त्यही कुवाको पानी प्रयोग गर्ने गरिएको अर्का स्थानीय नवीन अधिकारीले बताए । खोलामा आएको बाढीले कुवा पुरेपछि वडाध्यक्ष खरसिं दरैलाई भनेर तत्कालै डोजरको सहायताले कुवामा बाढी नपस्ने गराए पनि कुवा पुरिएको केही भाग सरसफाइ गर्न बाँकी रहेकाले स्थानीयवासी कुवा संरक्षणमा लागेका हुन् । रासस

कमेन्टहरु
Loading...