पोखरा । कास्की प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा पोखराबाट श्रीमान श्रीमतीलाई पक्राउ गरेको छ । पोखरा–१३ गौडाको मुखस्थित जयमार्गको एक घरबाट भदौ १० गते झण्डै २ लाख नगद र सामग्री चोरी गरेको दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा–१२ बस्ने २३ वर्षीय सन्तोष लामिछाने र उनकी श्रीमती २० वर्षीया रोशनी थापामगर लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिएका छन् । लामिछानेले वाइरिङको काम गर्दै आएका थिए ।
प्रवक्ता हमालका अनुसार अष्ट्रेलिया बस्दै आएका ठाकुरप्रसाद पोखरेलको २ तले घरबाट ती दम्पतीले घरको चाबी फोरेर टिभी, प्रेसरकुकर लगायतका भाँडा, लत्ताकपडा र १ लाख ९५ हजार ५ सय ५० चोरी गरेका थिए । घटनालगत्तै अनुसन्धानमा खटिएको वडा प्रहरी कार्यालय रामबजारसहित जिल्लाको टोलीले उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट ४२ इन्चको एलजी स्मार्ट टिभी एक थान, क्यानोन क्यामरा एक थान, मोबाइल एक थान, लत्ताकपडा र भाँडावर्तन बरामद गरेको छ । पक्राउ पर्ने दम्पतीलाई चोरी तथा डाँका कसुरमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ । घटनास्थल र चोरीको प्रकृति हेर्दा चोरीमा अन्यको पनि संलग्नता हुनसक्ने भन्दै सूक्ष्मरूपमा अनुसन्धान अगाडि बढाइएको प्रवक्ता हमालले बताएका छन् । रासस