कोरोनाबाट बचाउन दिनरात काम गर्दै महावीरको अनुसन्धान केन्द्र (तस्बिरसहित)

दिपक के श्रेष्ठ

म्यागसेसे पुरस्कार विजेता महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्र अनुसन्धानमूलक काममा २४ सै घण्टा खटिइरहेको छ ।

तत्काल के कस्ता आविष्कार वा खोज भए भनेर नतिजा नदेखिएपनि केही समयमै केन्द्रको कामहरु बाहिर आउने पुनले बताएका छन् । हाल विश्वनै कोरोना भाइरसले आक्रान्त भइरहेकोबेला नेपाल पनि अछुतो नरहेकाले केन्द्र यतिबेला भाइरस रोकथाममा आवश्यक पर्ने विभिन्न कामहरुमा जुटेको केन्द्रका अध्यक्ष पुनले जनाए । ‘अहिले अन्य कामहरु छाडेर कोरोनाबाट समुदायलाई बचाउने सामग्री खोज र निर्माणमा जुटेका छौं’ पुनले भने ‘हामीले मास्कलाई पुनः प्रयोग गर्न सकिने विधि, पिपिइ निर्माणलगायतका काम गरिरहेका छौं ।’

यस्तै, सरकारी अस्पतालमा रहेका बेकामे भेन्टिलेटरलाई मर्मत गरी पुनः प्रयोगमा ल्याउनसमेत केन्द्र व्यस्त रहेको उनले जानकारी दिए । भेन्टिलेटर मर्मतमा आवश्यक पर्ने स्पेयर पार्टस्बाहेकका सेवा निशूल्क रहेको छ । हाल केन्द्रको मूख्य लक्ष्य भेन्टिेलेटर निर्माण रहेको छ । जसको पहिलो ल्याब टेस्ट भइसकेको छ भने आगामी सेम्टेम्बरको पहिलो साता दोस्रो भेन्टिलेटरको परीक्षण गरिनेछ । पुनका अनुसार भेन्टिलेटर निर्माणमा अमेरिकाको स्ट्यान्फोर्ड युनिभर्सिटीसँग सहकार्य भइरहेको छ ।

केन्द्रको अर्काे अनुसन्धानमूलक काम भनेको आइशोलेसन बक्स निर्माण हो । यो बक्स एम्बुलेन्समा जडान गरिनेछ । जसले बिरामी र अन्यलाई एम्बुलेन्समा रहँदा संक्रमित हुनबाट जोगाउछ । यसैगरी, श्वासप्रश्वास क्रियालाई सहज बनाउने ‘पावर्ड एयर प्युरिफाइङ् रेस्पिरेटर’ (पिएपिआर)समेत केन्द्रमा बनाइँदैछ । जसले श्वास लिन कठिन बिरामी वा त्यस क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई सहयोग पु¥याउँछ ।

सार्वजनिकस्थल, सार्वजनिक सवारीसाधनलाई ब्याक्टेरियारहित बनाउने सामग्री, बैंकमा रहेको पैसालाई निर्मलीकरण गर्नेलगायतका काम केन्द्रमा भइरहेको छ । यसअघि अस्पतालमा प्रयोग गरिएका रोबोटलाई पनि थप परिष्कृत गर्न जुटिरहेको पुनले उल्लेख गरे । केन्द्रमा N 95 मास्कमा प्रयाेग हुने फिल्टरसमेत बनाइँदैछ ।

विज्ञान र इञ्जिनियरिङ् क्षेत्रमा खोज र अनुसन्धान गर्न रुचाउने युवाहरु पछिल्लो समय केन्द्रमा स्वयंसेवीकारुपमा कार्यरत छन् । केन्द्रमा रहेका स्वयंसेवीहरु तालिकाअनुसार रातैभर काममा व्यस्त हुन्छन् । उनीहरुले खानपानको व्यवस्थासमेत केन्द्रमै गरेका छन् । कोही भात पकाउँदै गर्दा अन्य काममा निरन्तर हुन्छन् ।

केन्द्रको अनुसन्धानमूलक र आविष्कारलाई सुरुवाति दिनदेखि नै देश विदेशबाट विभिन्न व्यक्ति र संस्थाले आर्थिकलगायत सहयोग गर्दै आएका छन् । सहयोगको सम्पूर्ण हिसाबकिताब सुरक्षित रहेको र समयसमयमा सार्वजनिक सञ्जालमार्फत विवरण देखाउँदै आइएको छ ।

 

 

 

 

 

 

 

 

 

तस्बिरहरूः महावीर पुन

कमेन्टहरु
Loading...