आज देखि तिहार शुरु, कागको पुजा गरि मनाइदै

पोखरा, १५ कात्तिक /आजदेखि नेपालीको घर आँगनमा दोस्रो ठूलो चाड दीपावली प्रारम्भ भएको छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया गरी पाँच दिनसम्म तिहार मनाउने भएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ। बहिनी यमुनालाई धर्मात्मा यमराजले वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ बनाएको र यमुनाले दाजुलाई पुजेका कारण यस पर्वलाई यमपञ्चक भनिएको पुराणमा उल्लेख छ। 

kagaतिहारलाई दाजुबहिनी वा भाइबहिनीको प्रगाढ सम्बन्धको प्रतीकको रुपमा लिइने गरिन्छ। भाइटीकाको दिन दाजुभाइले दिदीबहिनीलाई विभिन्न उपहार र दक्षिणा दिने गर्छन् भने दिदीबहिनीले विभिन्न परिकार दिएर पूजा गरी माला पहिराउँछन्। उक्त कार्यबाट आपसी स्नेहमा वृद्धि भई दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ। भाइटीकाको साइत कात्तिक १९ गते बिहान ११ः२७ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
झिलिमिली उज्यालो, फूलैफूलको रमझम, मिठाइ तथा सेलका परिकार खाने, घरपालुवा र घरआँगन निकट रहेका पशुपक्षीप्रति सम्मान, देउसीभैलो र अन्य नाचगान, नेपालको मौलिक सम्वत् नेपाल सम्वत्को प्रारम्भ, आफ्नो जीवनको आत्मसमीक्षा गरिने पूजा अर्थात् म्हपूजा पनि तिहारका विशेषतामा पर्दछन्। यमपञ्चकको पहिलो दिन आज कागतिहार समस्त नेपालीले आ–आफ्नो घरआँगनमा कागलाई बोलाई विभिन्न परिकारको चारो दिएर पूजा गर्ने गर्दछन्।

कमेन्टहरु
Loading...