चुनाव विरोधी पर्चा बाड्ने माओबादी कार्यकर्ता पक्राउ

गोकुल बानियाँ /पोखरा, १० कात्तिक /निर्वाचन विरोधी पर्चा बाँड्दै हिँडेको आरोपमा प्रहरीले एक जना माओबादी कार्यकर्तालाई पोखराबाट पक्राउ गरेको छ । कास्की क्षेत्र नम्बर दुईका ईन्चार्ज लालबहादुर गुरुङलाई निर्वाचन विरोधी क्रियाकलाप गरेको भन्दै प्रहरीले आईतबार दिउँसो अमरसिंहचोकबाट पक्राउ गरेको हो । गुरुङलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी नायव उपरिक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

यता नेकपा माओबादीले भने कुनै कसुर विना आफ्नो कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको भन्दै विरोध जनाएको छ । विरोधस्वरुप उसले आईतबार साँझ पत्रकार सम्मेलन गरेर तत्काल रिहा गर्न माग समेत गरेको छ । निर्वाचन सुरक्षाको लागि चुनाव विरोधी गतिविधि गर्ने जो कोहि लाई पनि नियन्त्रणमा लिईने कास्की प्रहरीले जनाएको छ ।

यसैबिच ग्रामिण क्षेत्रमा निर्वाचनको सुरक्षाको अवस्था बुझ्न जिल्ला सुरक्षा समिति कास्कीका पदाधिकारी आईतबार लुम्ले पुगेको छ । कास्कीका सबै निर्वाचन क्षेत्रको सुरक्षा अवस्था बुझ्ने क्रममा प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोईरालासहितको सुरक्षा समितिको टोली गाउ गाउ पुगेको हो ।

कमेन्टहरु
Loading...