पोउबा संघद्धारा लेउबा संघका नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन

पोखरा, ८ कार्तिक । पोखरा उद्योग बाणिज्य संघले छिमेकी लेखनाथ उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । भदौको अन्तिम साता लेखनाथमा सम्पन्न लेखनाथ उद्योग बाणिज्य संघको ९ औँ अधिवेशनले बाबुराम गिरीको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको हो । पोखरा उद्योग बाणिज्य संघकै पहलमा गठित लेखनाथ उद्योग बाणिज्य संघ अहिले १७ औँ वयमा पुगेको छ ।

एउटै जिल्लामा स्थापना भएका जिल्ला तथा नगर उद्योग बाणिज्य संघबीच भातृत्व कायम गराउनु तथा कास्की र समग्र पश्चिमाञ्चलको विकासको लागि साझा एजेण्डा तय गर्नु पनि स्वागत तथा भेटघाट कार्यक्रमको उदेश्य थियो । निजी क्षेत्रको वर्गीय हित तथा समग्र कास्कीको विकास निर्माणमा दुबै संघले एकसाथ रहेर साझा अवधारणा तय गर्दै पनि आएका छन् ।

स्वागत तथा भेटघाट कार्यक्रम तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले लेखनाथका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई ज्ञापन गर्दै बृहत्तर पोखराका लागि हुँदै आएको सहकार्यलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए । लेखनाथ उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष बाबुराम गिरीले स्थानीय निकायमा जनप्रतिनिधी विहिनताको अवस्थामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै दुबै संघको भूमिका महत्वपूर्ण भएको विचार व्यक्त गरे ।

उनले समुन्नत कास्कीका लागि ल्याइएका हरेक कार्यक्रममा सहकार्यको बचनवद्धता पनि जनाए । पोखरा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष विन्दुकुमार थापाको धन्यवाद तथा महासचिव नारायण कोइरालाको संचालन रहेको कार्यक्रममा पोखरा तथा लेखनाथ उद्योग बाणिज्य संघका पदाधिकारी, पूर्व अध्यक्षहरु तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

कमेन्टहरु
Loading...