सफल कपमा यु–१६ नेपाल र हङकङ भिड्दै

गोकुल बानियाँ/पोखरा ८ कार्तिक । तेस्रो सफल पोखरा कपमा आज १६ बर्ष मुनीको नेपाली राष्ट्रिय टिमले हङकङमा रहेका नेपालीहरु सम्मिलित नेप्लिज फुटबल एसोसिएसन संग खेल्दैछ । यु–१६ राष्ट्रिय टिम बिमल घर्तिमगरको कप्तानीमा मैदान उत्रनेछ । आजको अन्तिम प्रि–क्वाटरफाईनल खेल दिउसो साढे २ बजे पोखरा रंगशालामा सुरु हुनेछ । गत साउनमा सम्पन्न दोस्रो साफ यु–१६ फुटबलको उपबिजेता नेपाली युवा खेलाडिको टोलिसंगको भेट हङकङलाई कडा चुनौति हुनेछ ।
बिमलको ह्याट्रिक संगै साफ यु–१६ फुटबलमा नेपालले भुटानमाथि ७–० को फराकिलो जित निकालेको थियो भने पाकिस्तानलाई ३–०, अफगानिस्तानसंग एक ÷एक को बराबरी खेलेको थियो । १६ बर्ष मुनीको साफ च्यापियनसिपको सेमिफाईनलमा बंगलादेशलाई ५–१ ले हराउदै फाईनल पुगेको नेपाल उपाधि होडमा भारतसंग पराजित भएको थियो ।
साफ च्याम्पियनसिप फुटबल अन्तर्गत गत भदौ १९ गतेको खेलमा पाकिस्तानबिरुद्ध एक गोल गर्दै नतिजा बराबरीमा पु¥याएपछि फुटबलमा बिमलको निकै चर्चा छ । उनि नेपालको तर्फबाट कम उमेरमा अन्तराष्ट्रिय गोल गर्ने खेलाडि हुन् ।
आजको बिजेताले कार्तिक १२ गते भुटानको ए डिभिजन क्लबसंग खेल्नेछ । यसअघिका खेलमा जित हातपार्दै जावलाखेल र हिमालयन शेर्पा, पोखरा – ११ ले क्वाटरफाईनलको यात्रा गर्दा तय गरिसकेको छ । प्रतियोगितामा सहभागि मनाङ, आर्मी, थ्रिस्टार र भुटान वाई पाउदै सिधै क्वाटरफाईनलमा प्रबेश गरेका छन् । कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको फाईनल खेल कार्तिक १६ गते हुनेछ ।

कमेन्टहरु
Loading...