मेलामा सहभागिता बढ्दो, आज लगानीको अवसरबारे अन्तरक्रिया

पोखरा,२२ मंसिर/ पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलामा दर्शकहरुको चाप बढ्दै गएको छ । मेलाको दोस्रो दिनसम्म झण्डै १५ हजार जनाले मेलाको अवलोकन गरेको र १ करोड भन्दा बढीको कारोवार भएको मेलाका प्रचारप्रसार समिति संयोजक तथा आयोजक पोखरा उद्योग बाणिज्य संघका महासचिव नारायण कोइरालाले जनाए । मेला अगाडि बढ्दै गर्दा किनमेल र मनोरञ्जनको लागि मेलामा सहभागिता बढ्ने उनको अपेक्षा रहेको छ ।

लगानीको सम्वद्र्धन ः उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारासहित पोखराको नयाँबजारमा जारी मेलामा अटो, दैनिक उपभोग्यवस्तु, सूचना प्रविधी तथा सेवा, रेष्टुरेण्ट हस्तकला, पुष्प लगायतका २ सय ६७ वटा स्टल रहेका छन् । मेलामा मित्रराष्ट्र चीनमा उत्पादित सामाग्रीहरु प्रदर्शनको लागि चाइनिज पेभेलियनको ब्यवस्था गरिएको छ भने पाकिस्तानमा उत्पादित छाला तथा अन्य सामाग्रीहरु पनि मेलाको आकर्षण बनेका छन् । मनोरञ्जनतर्फ मेलाको दोस्रो दिन लोकगायकहरु तथा पप तथा आधुनिक गायकहरुले भरपुर मनोरञ्जन दिलाएका थिए ।

शनिबार प्रख्यात पप गायक धिरज राइसहित विग आइकन सुमन गौतम, गगन पुन, नविन काफ्ले, सविन ताम्राकार, आशिषदाश दियाली लगायतले दर्शकलाई मनोरञ्जन दिलाउने छन् । यसैगरी लोकगायकहरु पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली, कुलेन्द्र विक, चोलेन्द्र पौडेल, कृष्ण देवकोटा,जीवन दाहाल लगायतले गीत गाउनेछन् । यसैरी कपिलबस्तु र कास्की लोकदोहोरी प्रतिष्ठानबीच घम्साघम्सी पनि हुनेछ । यसैगरी विद्यालयस्तरीय समूह नृत्यप्रतियोगिता अन्तर्गत कञ्चनजंघा बोर्डिङ, बेसलाईन एकेडेमी र सूर्योदय बोर्डिङबीच पनि शनिबार नै प्रतिष्पर्धा हुने साँस्कृतिक उपसमिति संयोजक दामु अधिकारीले जानकारी दिए ।

यता संघले मेलाकै अवसरमा संघले शनिबार नेपालमा जलविद्युत र सेयर बजारमा लगानीबारे अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । संघको सचिवालय गैह्रापाटनमा हुने अन्तरक्रियामा नेपालमा जलविद्युत र सेयर बजारमा लगानीका संभावना र त्यसबाट हुने लाभका बारे जलविद्युत क्षेत्रका विज्ञ ज्ञानेन्द्रलाल प्रधान मुख्यवक्ता रहने छन् । संघले लगानीको सम्वद्र्धन ः उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारासहित मेला आयोजना गरेकोले लगानीबारे पनि अन्तरक्रिया आयोजना गरिएको संघका अध्यक्ष संजिवबहादुर कोइरालाले जानकारी दिए ।

कमेन्टहरु
Loading...