चौथो सिम्पानी कप सेभेन ए साइड फुटवल प्रतियोगिता शुरु

विजेतालाई १ लाख रुपैयाँ
पोखरा, २ कार्तिक /पोखरामा सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधी राशि पनि एक लाख रुपैयाँ पुगेको छ । पोखरा –१ सिम्पानीस्थित त्रिशक्ति समाज सेवा क्लवको आयोजनामा आइतबारदेखि शुरु हुन लागेको चौथो सिम्पानी कप खुला सेभेन ए साइड फुटवल प्रतियोगितामा प्रथम हुने समुहले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

त्यस्तै दोश्रो हुनेले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छ । उपाधीसंगै दुवै टिमले शिल्ड मेडल प्रमाणत्र गर्नेछन् भने अन्य विधाका खेलाडीहरुलाईपनि नगद सहित पुरस्कृत गरिने क्लवले जनाएको छ । कसेरी खेल मैदानमा हुने प्रतियोगिताको सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले नगद दश दश हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् भने अनुशाशित टोलिले नगद ५ हजार र ट्रफि पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक मिलन गुरुङ्गले जानकारी दिए ।

त्यसैगरि हरेक खेलको म्यान अ द म्याच खेलाडीलाई पनि पुरस्कृत गरिने छ । यसअघि पोखरामा आयोजित सेभेन ए साइड फुटवल प्रतियोगितामा विजेताले ७५ हजार रुपैयाँ सम्मको धनराशि प्राप्त गरेका थिए । प्रतियोगिता सम्पन्न गर्न झण्डै १० लाख ५६ हजार खर्चको अनुमान गरिएको आर्थिक समिति संयोजक प्रकाश गुरुङ्गले जानकारी दिए । मुख्य र सह–प्रायोजक समेत नरहेको प्रतियोगिताबाट केहि रकम बचत हुने क्लवको अनुमान छ ।

उक्त खर्च स्थानिय सहयोगि र देशविदेशमा रहेका आफन्तबाट संकलन गरिएको गुरुङ्गले बताए । स्वास्थ्य नागरिक उत्पादन र अनुशाशित समाज निर्माणका लागि आफुहरुले विगतदेखि फुटवल प्रतियोगिता आयोजना गर्दै आएको क्लवले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न क्लव अध्यक्ष राजेश गुरुङ्गको मुल संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरिएको छ । मनिष गौचन प्रतियोगिताको अर्का संयोजक हुन् ।

कमेन्टहरु
Loading...