संविधान बनाउन कांग्रेसको बहुमत चाहिन्छ

पोखरा, २६ असोज /नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री ईन्द्र बहादुर गुरुङले संघियताको नाममा एकिकृत माओवादीले मुलुकमा बिखण्डन ल्याउन खोजेको आरोप लगाउनु भएको छ । कांग्रेस क्षेत्र नं ३ को चुनाव प्रचार कार्यालयको आज पोखरामा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहनु भएका गुरुङले संघियता तथा राज्य पुर्नसंरचनाको विषय संसदमा व्यापक रुपमा छलफल हुन नसकेकोले मुलुक दिशाहिनतामा गएको बताउनु भयो ।गुरुङले दोश्रो संविधानसभा निर्वाचनमा कांग्रेसले बहुमत ल्याएमा संविधान पनि बन्ने र जनताको आकांक्षा पनि पूरा हुने दावि गर्नुभयो । उहाँले सबै जातजाति, भाषाभेषि अटाएको संविधान कांग्रेसबिना असंभव भएको बताउनु भयो । पूर्व मन्त्रीसमेत रहनु भएका गुरुङले संघिय समाजवादी पार्टीले संघियतालाई नबुझेर राजनीतिलाई परिवारमा केन्द्रीत गरेको आरोप लगाउनु भयो । साथै उहाँले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई तथा सभामुख सुवास नेम्वाङले आधा रातमा संविधानसभालाई भंग गरेर मुलुकलाई अहिलेको अवस्थामा पुर्याएको बताउनुभयो ।
कांग्रेस क्षेत्र नं ३ का प्रत्यासि उम्मेदवार सोभियत बहादुर अधिकारीले बिगतको संविधानसभामा कांग्रेसको हारको कारणले नै संविधानले पूर्णता नपाएको बताउँदै संविधान बन्नको लागि कांग्रेसले बहुमत ल्याउनु पर्ने र जनताको विश्वास पनि कांग्रेसमा रहेको बताउनु भयो । कार्यक्रममा कांग्रेस नेता शुक्रराज शर्मा, महासति सदस्य देवराज चालिसे, नेत्री सुनयना पालिखे, प्रचार संयोजक केशर निर्दोषि, कास्की उपसभापति तथा प्रचार संयोजक विष्णु वास्तोला लगायतले भएको थियो । कार्यक्रम कांग्रेस क्षेत्र नं ३ का सभापति शोभाचन्द्र वरालको अध्यक्षतामा भएको थियो ।

कमेन्टहरु
Loading...