रासस र सरकारको सम्बन्ध व्यवस्थित हुनुपर्छ – मन्त्री चुमान, जमुना उत्कृष्ट सम्मान

पोखरा, ७ फागुन/ गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले राष्ट्रिय समाचार समिति र प्रदेश सरकारको सम्बन्ध व्यवस्थित हुनुपर्ने बताउनुभएको छ । राससको ५९ औं वार्षिकोत्सवका सन्दर्भमा गण्डकी प्रदेश कार्यालय पोखराद्वारा आयोजित कायक्रममा उहाँले प्रदेश सरकार रासससँग समन्वय गर्दै सँगसँगै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

“समन्वयका साथ अघि बढ्दा राससको भौतिक पूर्वाधार, क्षमता विकास लगायतमा सहयोग गर्न सरकार तयार छ,” – उहाँले भन्नुभयो । मुलुकको समृद्धिमा सञ्चार माध्यमको अतुलनीय योगदान रहेको चर्चा गर्दै मन्त्री चुमानले प्रकाशित एवम् प्रशारित समाचारले समाज एवम् राष्ट्रमा परिणाम निकाल्न मद्दत पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

देश संघीयताको कार्यान्वयनमा अघि बढे पनि अझै केही व्यवहारिक कठिनाई रहेको चर्चा गर्दै उहाँले केन्द्र सरकार मातहतका प्रदेशका कार्यालय तथा संरचना प्रदेश सरकारलाई हस्तान्तरण गर्न उहाँले माग गर्नुभयो । प्रदेशमा सञ्चारग्राम स्थापनाका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि जमिन प्राप्त नहुँदा ढिलाई भएको मन्त्री चुमानको भनाइ छ ।

राससका पूर्व अध्यक्ष कोमलनाथ बरालले सरकारको आधिकारिक समाचार एजेन्सी रहेको रासस प्रति अन्तराष्ट्रिय विश्वास समेत कायम रहेको बताउनुभयो । मुलुक संघीयतामा गए पनि राससका प्रदेश कार्यालयको भौतिक पूर्वाधार लगायतका विषय त्यो रुपमा विकास हुन नसकेको चर्चा गर्दै उहाँले राज्यका सम्पूर्ण निकाय प्रदेश स्तरमा विकास हुनुपर्नेमा जोड दिनुभयो ।

समृद्धिको प्रमुख आधारका रुपमा रहेको कृषिको विकासका लागि सरकारले स्पष्ट नीति ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै बरालले सञ्चारमाध्यमले सरकारले गरेका राम्रा कामलाई तथ्यका आधारमा व्यक्त गर्दै समृद्धिमा योगदान पु¥याउनुपर्ने धारणा राख्नुभयो । राससका पूर्व सञ्चालक सदस्य गंगाधर पराजुलीले सरकारको राससलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक नदेखिएको उल्लेख गर्दै अन्य सरकारी सञ्चारमाध्यमको तुलनामा छायामा परेको बताउनुभयो ।

आफ्नो साधनस्रोतलाई उपयोग गर्दै प्रदेशस्तरबाटै बुलेटिन प्रकाशन गर्नुपर्नेमा जोड दिदै उहाँले प्रदेश सरकारले राससको भरपुर उपयोग गर्न सक्नुपर्ने बताउनुभयो । राससको तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका प्रमुख एवम् नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीले आँफूका राससका भोगाई सुनाउँदै यसको प्रभावकारिता अभिबृद्धि हुने गरी कृयाशिल बन्न राससकर्मीलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले राससले पस्कने सामाग्री औपचारिक कार्यक्रमका भन्दा खोजी समाचारमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले आगामी दिनमा राससको भूमिका अभैm प्रभावकारी देखिने गरी कृयाशिल बन्नुपर्ने सुझाव दिनुभयो ।

महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले राससले परिपक्वता हासिल गर्दै आएको बताउँदै देशको समाजिक, आर्थिक, राजनीतिक परिवर्तनबाट मात्र समृद्धि हासिल हुने भएकोले त्यस तर्फ हाम्रा कलम चल्नुपर्नेमा जोड दिनुभयो ।

रेडियो नेपाल गण्डकी प्रदेश प्रदेश प्रशारण कार्यालय पोखराका निमित्त प्रमुख शान्ति गुरुङले रेडियोको लागि रासस समाचारको महत्वपूर्ण स्रोत भएको बताउनुभयो । कार्यक्रमका सभापति एवम् रासस गण्डकी प्रदेश कार्यालय, पोखराका प्रमुख वासुदेव पौडेलले स्थापनाकाल यता राससले समाचार सम्प्रेषणका माध्यमबाट खेल्दै आएको भूमिका आगामी दिनमा अझै प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

रासस वाग्लुङ कार्यालयका प्रमुख राम थापाले सञ्चारमाध्यमको बढ्दो विकाससँगै राससको आवश्यकता र औचित्य बढ्दै गएको बताउनुभयो ।

प्रदेश सवोत्कृष्ट जिल्ला समाचारदातालाई सम्मान

वार्षिकोत्सवका अवसरमा गण्डकी प्रदेश अन्तर्गत रासस वर्ष सर्वोत्कृष्ट जिल्ला समाचारदाता (स्ट्रिङगर) जमुना वर्षा शर्मालाई पुरस्कृत गरियो । उहाँलाई मन्त्री चुमान, राससका पूर्व अध्यक्ष बराल र प्रदेश प्रमुख पौडेलले १५ हजार रुपैयाँ नगद सहित सम्मानपत्रबाट पुरस्कृत गर्नुभयो ।

पुरस्कृत समाचारदाता शर्माले आँफैंले काम गरिरहेको संस्थाबाट कामको मूल्याङकन गरी पुरस्कृत बन्न पाउँदा ठूलो उर्जा मिलेको बताउनुभयो । घर, परिवार एवम् समाजलाई व्यवस्थापन गर्दै पत्रकारितामा निरन्तर लाग्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले काममा प्रेरणा प्रदान गर्ने गण्डकी प्रदेश कार्यालय एवम् केन्द्रीय कार्यालय प्रति आभार व्यक्त गर्नुभयो ।

कमेन्टहरु
Loading...