पोखरा, २६ माघ /फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघ कास्कीको १६ औं साधारणसभा सम्पन्न भएको छ ।संघले शनिबार पोखरामा १६ औं साधारणसभा एवं भवन उदघाटन कार्यक्रम सम्पन्न गरेको हो ।फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघ कास्कीले पोखरा १४ चाउथे स्थित समाबेसी टोलमा करिब ३२ लाख रुपैयाँको लागतमा कार्यलय भवनको निर्माण गरेको छ । सोहि भवनको साधारणसभा कै अबसर पारेर उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री बिकास लम्सालले उदघाटन गरेका हुन् ।
साधारणसभाका प्रमुख अतिथी पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले दर्ता नगरी व्यवसाय नचलाउन आग्रह गर्दै बिना दर्ता संचालन गरिए कार्वाही गर्ने चेतावनी दिए । व्यवसायीका संघ संगठनहरुमा गैर व्यवसायीको हालिमुहाली रहने गरेको तर्फ सङ्केत गर्दै प्रमुख जिसीले जुन सुकै व्यवसायीका संस्थाहरुमा सो क्षेत्र बुझेको र सोही क्षेत्रमा काम गर्ने ब्यक्तीले नेतृत्व लिन सके मात्रै यस्ता संस्थाले सार्थकता पाउन सक्ने पनि बताए ।
संघका सल्लाहकार समितीका संयोजक युवराज पौडेलले फर्निचर तथा फर्निसिङ्ग व्यवसायीहरु धेरै समस्यामा रहेकोले एकता बिना कुनै पनि व्यवसायीक हक तथा अधिकार पुरा हुन नसक्ने जिकिर गर्दै सबैलाई एकताबद्द भएर अगाडी बढ्न आग्रह गरे । फर्निचर तथा फर्निसिङ्ग व्यवसायमा जनशक्तीको समस्या सबैभन्दा धेरै रहेको भन्दै पौडेलले अब मेसिनको प्रयोगबाट कम जनशक्तीका माध्यमबाट बढी उत्पादन गर्ने तर्फ जोड दिनु पर्ने बताए ।
फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष सुजित श्रेष्ठले प्राकृतिक रुपमा सजिलै पाउन सकिने कच्चा पदार्थलाई बिदेशबाट महङ्गोमा किन्नु पर्दा फर्निचरहरुको मुल्य महङ्गो पर्ने गरेको भन्दै सरकारले नितिमा नै परिबर्तन गरेर नेपाल भित्रैको कच्चा पदार्थको प्रयोगलाई सहज बनाउन आवश्यक रहेको बताए ।फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघका केन्द्रिय महासचिब ओम बस्नेतले व्यबसायीमा घरभाडाको समस्या पनि मुख्य रुपमा रहने गरेकोले राज्यका निकायहरुले यसमा ध्यान पुर्याउन जरुरी रहेको जिकिर गरे ।
फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघ कास्कीका अध्यक्ष प्रेमराज बसौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघ कास्कीका सल्लाहकार एवम भवन निर्माण समितिका संयोजक ज्ञान बहादुर नेपाली, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष बिन्दु कोइराला सुबेदी, फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघ चितवनका अध्यक्ष अरुण खनाल , संघ स्याङ्गजाका अध्यक्ष लोकनाथ रेग्मी ,संघ कास्कीका पुर्व अध्यक्ष हिरामणी पण्डित ,औसधी व्यवसायी संघका अध्यक्ष राम केसी लगायतले बोलेका थिए । फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघ कास्कीका बरिष्ठ उपाध्यक्ष युवकराज बस्नेतले धन्यवाद ब्यक्त गरेको कार्यक्रमको संचालन महासचिब बैन बहादुर गुरुङ्गले गरेका थिए ।
कार्यक्रमा भवन निर्माण समितीका संयोजक ज्ञान बहादुर नेपाली र सदस्यहरु युवराज पौडेल, हिरामणी पण्डित लगायत भवन निर्माणका क्रममा आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।सोहि अबसरमा फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघ कास्कीमा आबद्द व्यवसायीका एसईइ परिक्षा उत्रिण छोराछोरी पनि सम्मानित भएका थिए ।
साधरणसभा बाट अध्यक्षले प्रस्तुत गरेको अध्यक्षको प्रतिबेदन, महासचिबले प्रस्तुत गरेको सांगठनिक प्रतिबेदन र कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्वसम्मत अनुमोदन भएको महासचिब बैन बहादुर गुरुङ्गले गन्थन डटकमलाई जानकारी दिए ।