महिला उद्यमी मेला सुरु, मेलामा दैनिक उपभोग्य सामानहरु सस्तो

पोखरा, १७ असोज /दशैँको मुखमा आज देखि पोखरामा महिला उद्यमी मेला–२०७० सुरु भएको छ । आर्थिक सम्वृद्धिका लागि महिला उद्यमशिलता भन्ने मूल नारासहित आयोजित मेला असोज २१ गतेसम्म चल्नेछ । पोखरा उद्योग बाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास उपसमिति मेलाको आयोजक हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा संचालित मेलामा महिला उद्यमीहरुद्धारा उत्पादित सामाग्रीहरु, हस्तकला, पुष्प प्रदर्शनीका अलावा दैनिक उपभोग्य बस्तुहरु पनि राखिएका छन् ।

मेला स्थलमा राखिएका पसलहरुमा दैनिक जीवनमा चाहिने चिनी, नुन, चामल, आँटा, तेल जस्ता बस्तुहरु बाहिर बजारमाभन्दा सस्तो मूल्यमा बिक्री गरिएको छ । मेलालाई मनोरञ्जनात्मक बनाउन बाल उद्यान, साँस्कृतिक कार्यक्रम र दोहोरी गीतका कार्यक्रमहरु पनि समावेश गरिएको आयोजक पोखरा उद्योग बाणिज्य संघ, महिला उद्यमी विकास उपसमितिले जनाएको छ ।

मेलाको पुनरावेदन अदालत पोखराका न्यायाधीश प्रभा बस्नेतले उद्घाटन गरिन् । उनले महिलाहरु संसारभर पछाडि परको उल्लेख गर्दै समानताका लागि पहल गर्नुपर्नेमा जोड दिइन् । कर्ममा जीवन भएकोले कर्मशील बन्नुपर्नेमा उनको जोड रहेको थियो । महिलाहरु जोखिमपूर्ण अवस्थामा रहेको जनाउँदै उनले महिलामाथि पर्ने समस्या थाहा पाउन र त्यसको कानूनी उपचारको बाटो थाहा पाउन महिलाहरुलाई अदालत आउन आमन्त्रण गरिन् । कार्यक्रमका नेपाल उद्योग बाणिज्य महासंघ तथा पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले महिलाले अर्थतन्त्रमा दिएको योगदानको मूल्याङ्कन र गणना हुनुपर्नेमा जोड दिए ।

उद्घाटन कार्यक्रम तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले महिला मेलाले महिलाहरुलाई उद्यमी महिलामा रुपान्तरित गरी प्रतिष्पर्धी क्षमताको पनि विकास गर्ने आशा व्यक्त गरे । उद्घाटन सत्रमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा शिद्धार्थ नगर उद्योग बाणिज्य संघका महिला उद्यमी विकास समिति संयोजक शान्ता जिसी, पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्य, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बाबुराम गिरी, पोखरा उद्योग बाणिज्य संघका महासचिव नारायण कोइराला, मूख्य प्रायोजक पन्थी डेरी प्रालिका संचालक रेशम पन्थी, गुल्मी उद्योग बाणिज्य संघका महिला उद्यमी विकास समिति संयोजक सीता श्रेष्ठ, पोखरा–५ मा गठित नमूना आदर्श आमा समूहका अध्यक्ष कालिका शर्मा लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रमको समापन गर्दै महिला उद्यमी मेलाका संयोजक तथा पोखरा उद्योग बाणिज्य संघका उपमहासचिव हीरा भट्टराईले महिलाहरुद्धारा उत्पादित बस्तु तथा सेवाहरुको पहिचान गरी त्यसको बजार प्रवद्र्धन गर्ने उदेश्यले मेला आयोजना गरिएको जानकारी दिइन् । मेला अन्तर्गत शुक्रबारबाट मनोरञ्जनात्मक कार्यक्रम,दोहोरी गीतका साथै उद्यमशीलता झल्काउने दोहोरी गीत प्रतियोगिता पनि आयोजना हुने प्रचारप्रसार संयोजक सीता गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...