सेती नहर फोहोर गर्नेलाई कडा कार्वाही गरिने

पोखरा, ९ मंसिर ः कास्कीका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले पोखराको सेती नहरमा फोहोर फाल्नेलाई कडा कार्वही गरिने घोषणा गर्नुभएको छ । पोखराको नदीपुरबाट बगेर फेवातालमा मिसिन पुगेको सेती नहरमा नगरवासीबाटै फोहोर फालिएको पाइएपछि उहाँले त्यस्तो घोषणा गर्नुभएको हो । पश्चिमाञ्चल होटल संघ पोखराको अगुवाईमा सेती नहर सफाई र त्यसबाट तालमा मिसिएको फोहोर सफा गर्न शनिवार कार्यक्रम आयोजना गरिएको थियो ।
सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी वलका प्रहरी नायव महानिरिक्षक प्रेमवहादुर शाही, सशस्त्र प्रहरी उपरीक्षक सम्भु उप्रेती, पोखरा उपमहमानगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारी लगायत उनीहरुका कर्मचारी सहभागी भएका थिए । यसैगरी हिमालयन लाइफ प्लाष्टिक प्रालि, पोखरा हेल्थकेयर प्रोजेक्ट (पीएचपी) र लेकसाइडका आमा समूहहरुले सेती नहर र त्यसबाट तालमा मिसिएको फोहोर निकालेका थिए । त्यसलाई उपमहमहानगरपालिकाको ट्रयाक्टर मार्फत व्यवस्थापन गरिएको थियो ।
सेती नहर संघले विगत वर्षहरुमा पनि सफा गरेको र यो कामलाई अहिले पनि निरन्तरता दिइएको संघका अध्यक्ष विप्लव पौडेलले बताउनुभयो । ताल सफाईका लागि डुंगा नै व्यवस्था गरेर समेत संघले दैनिक योगदान पु¥याएको उहाँले जानकारी दिनुभयो । फेवा ताल बचाऔं भन्दै संघले हरेक वर्ष फेवा नव वर्ष महोत्सव समेत आयोजना गर्दै आएको छ । सफाई कार्यक्रममा संघका द्वितीय उपाध्यक्ष भरतराज पराजुली, संघका महासचिव विकल तुलाचन र सदस्य राजेन्द्र ढकालले समेत सहभागिता जनाउनुभएको थियो ।
स्थानीय स्वायत्त शाशन ऐन अन्तर्गत पोखरा उपमहानगरपालिकाले समेत नहर र तालमा फोहोर गर्नेलाई १५ हजार रुपैयाँ सम्मको जरिवाना गर्न सक्ने व्यवस्था भए पनि हालसम्म फोहोर फालेकै आधारमा कसैलाई कार्वाही गर्न सकेको छैन । पहिलो चरणमा नगरवासीलाई फोहोर नफाल्न आग्रह गर्दै सचेतना अभियान चलाइने र दोश्रो चरणमा त्यसलाई अनुगमन गरिने प्रजिअ गौतमले बताउनुभयो ।
त्यति गर्दापनि फोहोर फालेको पाइएमा जिल्ला प्रशाशनले फोहोर फाल्नेलाई कडा कार्वाही गर्ने उहाँले सुनाउनुभयो । सेती नहरमा घरबाट निस्कने ढल, मरेका कुखुरा, कण्डम, सिनो, प्लाष्टिक, शौचालयको सेप्टिक टैंक र फ्रेस हाउसले मिसाएको फोहोर समेत सफाईको क्रममा पाइएको थियो । सो अवसरमा हिमालयन लाइफ प्लाष्टिक प्रालिका प्रमुख सल्लाहकार एवं संघका निवर्तमान अध्यक्ष गोविन्दराज पहारीले फेवाताल पूर्वतर्फबाट मानवीय प्रदूषण र पश्चिमतिरबाट हर्पन खोला लगायत खोलाबाट बगेर आउने माटोका कारण पुरिंदै गएको बताउनुभयो । उहाँले प्रालिका तर्फबाट प्रजिअ गौतमलाई त्यत्तिकै खेर जाने प्लाष्टिकका वोत्तल रिसाइकल गरिनु अघि संकलन गर्ने भाँडो समेत प्रदान गर्नुभयो ।
सेती नहर वरपरका अधिकांश वासिन्दाले घरमा उत्पादित फोहोर सिधा नहरमा मिसाउने र पर्खाल माथि तथा स्ल्यावमा कपडा धुँदा त्यसले अन्ततः फेवा ताल प्रदूषित हुन पुगेको छ । पोखरा उपमहानगरपालिका अन्तर्गत संचालित पोखरा वातावरण सुधार आयोजनाले सिंचाई र रेन वाटर पठाउने प्रयोजनका लागि तालसम्म पुग्ने सेती नहर बनाएको हो । तर नहरको दुरुपयोग हुँदा अहिले यो टाउको दुखाईको विषय बन्न पुगेको हो ।

कमेन्टहरु
Loading...