पर्यटन सिजनको मुखमा पानीको हाहाकार, पर्यटन व्यवसायी आक्रोशीत

पोखरा, १६ असोज/पर्यटन मौसमको मुखमा खानेपानीमो हाहाकार सिर्जना गरिएको बताउँदै पश्चिमाञ्चल होटल संघ पोखराले मध्य मंसीर सम्म खानेपानीको सहज आपूर्ति नगरिए व्यवसायी र सम्पूर्ण पोखरेली आन्दोलनमा उत्रने चेतावनी दिएको छ । लेकसाइडका होटल र रेष्टुरेण्टमा पानी आपूर्ति गर्न प्रयोग गरिएका पाइप तथा विद्युतीय मोटर विना विकल्प हटाइँदा पर्यटन माथि गंभीर धक्का लागेको संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी दिनुभयो । पाइप हटाइएकोमा कुनै आपत्ती छैन तर विकल्प दिएर यो कार्य गरिनुपथ्र्यो, उहाँले भन्नुभयो ।

लेकसाइड र समग्र पोखरामा तत्काल खानेपानी आपूर्ति सुचारु गर्न माग गर्दै संघको एक टोली वुधवार नेपाल खानेपानी संस्थानको पोखरा खानेपानी कार्यालयमा डेलिगेसन गएको थियो । मध्य मंसीर भित्र खानेपानी सहज आपूर्ति गर्न संघले सो अवसरमा संस्थानलाई अल्टिमेम दिएको छ । गत वर्ष वैशाख २३ र त्यसपछि पटक पटक सेती नदीमा आएको बाढीले भत्काएको पाइप लाइन मर्मत कार्य अझै सम्पन्न नभएपछि यसअघि देखि नै पोखरामा खानेपानीको अभाव रहँदै आएको थियो ।
वितेको दुई वर्षदेखि हुन्छ हुन्छ भन्ने तर पानी आपूर्ति नगर्ने संस्थानको कार्यशैलीप्रति व्यवसायीले आक्रोस व्यक्त गरेका छन् । मोटर र पाइप हटाइएपछि लेकसाइडमा पानीको वैकल्पिक ब्यवस्थाका लागि गत भदौ २१ मा कास्कीका स्थानीय विकास अधिकारी इश्वरराज पौडेलको संयोजकत्वमा एक समिति समेत गठन गरिएको थियो । यो समितिले समेत हालसम्म पानीको कुनै बैकल्पिक व्यवस्था गर्न सकेको छैन । संघको टोली वुधवार नै संयोजक पौडेल सँग समेत डेलिगेसन गएको थियो ।
समग्रमा भन्दा लेकसाइडमा मात्र नभई समग्र पोखरामा नै अहिले खानेपानीको अभाव भएको हो । पोखरामा कास्कीको हेम्जा गाउँ विकास समितिको मर्दीखोलाबाट पानी ल्याउन प्रयुक्त १४ इञ्च मोटाइको पुरानो पाइपलाइन र २० इञ्च मोटाइको नयाँ पाइपलाइन मध्ये नयाँ चाहिं बगेपछि आबश्यक भन्दा निकै कम पानी पोखरामा आपूर्ति हुँदै आएको छ । पोखरा खानेपानी आयोजनाका प्रमुख बुद्धरत्न महर्जनले मंसीर सम्म नयाँ पाइप लाइन बनी सक्ने प्रतिबद्धता व्यक्त गरे । हाल पाइप बगेको ठाउँमा नयाँ पाइप लाइन विच्छाउँदा दैनिक वर्षाका कारण पुरानो लाइन पनि भास्सीने खतरा बढेको उनले बताए । यसकारण दशैंमा बँचेको पाइपलाइन समेत विग्रेर पानीको सुन्य आपूर्ति हुने डरले हाल केही दिनलाई मर्मतको काम रोकिएको समेत उनले सुनाए । पोखराको विन्ध्यवासिनीबाट पश्र्याङ हुँदै लेकसाइड पुग्ने एक हजार चार सय मिटर लामो पाइप लाइन अगामि पुस भित्रमा बनी सक्ने दावी पनि उनले गरे ।
यता संघले भने लेकसाइडको कुनै एक ठाउँमा बोरिङ गरी बोरिङबाट प्राप्त पानी संस्थानको पुरानै पाइपलाइनमा हालेर लेकसाइडमा वितरण गर्ने अनुमति समेत संस्थानले नदिएर ज्याजदी गरेको आरोप लगाएको छ । हाल चार दर्जन निजी खानेपानी ट्यांकरले पोखरा र पर्यटकीय लेकसाइडमा खानेपानी आपूर्ति गर्दै आएका छन् । सबै व्यवसायी पानी किन्न सक्ने अवस्थामा नभएको संघले जनाएको छ । पोखरामा दैनिक करिब चार करोड २५ लाख लिटर पानी आवश्यक पर्नेमा अहिले दुई करोड २५ लाख लिटर मात्र आपूर्ति हुँदै आएको तथ्यांक संस्थानसँग रहेको छ । डेलिगेसन टोलीमा संघका अध्यक्ष शर्माको नेतृत्वमा संघका सल्लाहकार गिरीराज अधिकारी, द्वितीय उपाध्यक्ष विकल तुलाचन, महासचिव लक्ष्मण सुवेदी, कोषाध्यक्ष भेकेन्द्रकुमार श्रेष्ठ र पूर्व कोषाध्यक्ष दीपक श्रेष्ठ रहेका थिए ।

कमेन्टहरु
Loading...