भद्रकालीमा स्वागत तथा शुभकामना

पोखरा, १५ असोज ः पोखराको कुँडहरमा रहेको भद्रकाली उच्च माविमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागत तथा दशै, तिहार, छठ पर्वको शुभकामना आदानप्रदान गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका सहप्राचार्य रामप्रसाद आचार्यले बताए ।

कार्यक्रममा बोल्दै आचार्यले विद्यार्थीहरुको पहिलो र एक मात्र उद्धेश्य शिक्षा आर्जन गर्नु भएकाले अध्ययनमा मात्रै अर्जुनदृष्टि लगाउन आग्रह गरे । विद्यालयका प्रधानाध्यापक घनश्याम रिजालले विद्यालय तहमा हुँदा विद्यार्थीहरुमाथि शिक्षकको अलि धेरै निगरानी हुने भए पनि एसएलसी पछि भने विद्यार्थीलाई समेत दायित्व हुने भएकाले स्वत निगरानी घट्ने बताए । उनले भने, यसबाट विद्यार्थीले आफूमा दायित्व थपिएको अनुभूति गर्नुपर्छ । सहायक प्रधानाध्यापक राजेन्द्र भण्डारीले नवागन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै शुभकामना दिएका थिए ।

सो अवसरमा कक्षा ११ मा अध्ययरत विद्यार्थीलाई खादा र अबिरले स्वागत गरिएको थियो । विद्यार्थीहरुले, गीत, कविता, गजल चुट्किला मात्र नभएर नृत्य समेत प्रस्तुत गरेका थिए । छात्रहरुले कन्सर्ट पनि गरेका थिए । २००८ सालमा स्थानीय शिक्षा सेवीको पहलमा स्थापना भएको विद्यालयको उच्च मावि तहमा अहिले करिब आठ सय विद्यार्थी अध्ययनरत छन् । उच्च मावि तहमा, विज्ञान, ब्यवस्थापन, मानविकी र शिक्षा संकायका कक्षा संचालित छन् ।

कमेन्टहरु
Loading...