नागरिक सरोकारका विषयलाई सञ्चार माध्यमले प्राथमिकता दिनु पर्ने

पोखरा, १४ असोज /नागरिक सरोकारका विषयलाई सञ्चार माध्यम प्राथमिकता दिनु पर्नेमा पोखरामा असोज १४ गते आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराले आयोजना गरेको स्थानीय निकायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल कार्यक्रम अन्तर्गत सञ्चार माध्यमसँग सम्वाद कार्यक्रमका सहभागीहरुले नागरिकहरुले सचेतनाको अभावले गर्दा राज्यबाट पाउने सेवा, सुविधाबाट बञ्चित हुनु परेकोले नागरिकहरुमा जागरुकता र सचेतना अभिवृद्धि गर्न सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए ।

सहभागीहरुले नागरिकको समस्या र सरोकारका विषयलाई उजागर गरी विधिको शासनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन पहल गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै उच्च माध्यमिक शिक्षा परिषद कार्यालय पोखराका निर्देशक रमेश अधिकारीले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई राज्यले मौलिक अधिकारको रुपमा सुनिश्चित गर्नु पर्ने उल्लेख गर्दै नागरिक सचेतनाको लागि सरोकारवाला निकायवीच सहकार्य हुनु पर्ने बताए ।

जिल्ला कृषि विकास कार्यालयका अधिकृत गंगाबहादुर थापाले खाद्य सृुरक्षा सरकारको प्रयासले मात्र सम्भव नहुने भएकोले सबैको पहल र सहकार्य हुनु पर्ने बताउदै कृषि कार्यालयले माटो सुृधार कार्यक्रम, सानासिंचाई, सहकारी कृषि कार्यक्रम सञ्चालन गरेको बताए । जिल्ला जनस्वास्थ्य कार्यालयका नानीबाबु ढकालले सीमित साधन स्रोत र जनशक्तिको अभावले गर्दा स्वास्थ्य क्षेत्रमा आम नागरिकको गुनासो बढी आउने गरेकोले उनीहरुको पहुँच बढाउनको लागि सबैले पहल गर्नु पर्ने बताए ।
राष्ट्रिय मानवअधिकार आयोग पोखराका खिमलाल सुवेदीले स्वास्थ्यको संरचना बने तापनि आवश्यक साधन स्रोत, उपकरण जनशक्ति नभएको उल्लेख गर्दैै सबै बालबालिकालाई शिक्षाको अधिकारको प्रत्याभूति गराउन सरोकारवाला निकायले ध्यान दिनु पर्ने बताए ।

रेडियो तरङ्गका प्रवन्ध निर्देशक हिमनिधि लौडारीले स्थानीय निकायमा हुने भ्रष्टाचार, विकृति, विसंगतिलाई अन्त्य गरी विधिको शासन स्थापित गर्न सकेमा मात्र आम नागरिकको शिक्षा, स्वास्थ्य, खाद्यअधिकारको प्रत्याभूति हुने बताए । कार्यक्रममा जिल्लास्तरीय मानवअधिकार निगरानी समुहका सदस्यद्वय दुर्गा केसी, ढाकाराम पौडेल, सिद्ध गाविस मानवअधिकार निगरानी समूहका अध्यक्ष अमृतबहादुर आचार्य, सदस्य राजेन्द्रराज रेग्मी, सिद्ध गाविसका अहेव पार्वती भण्डारी लगायतले सिद्ध गाविसमा सञ्चालित शिक्षा, स्वास्थ्य र खाद्यअधिकारका लागि सञ्चालित कार्यक्रमकाृ प्रभावले नागरिकमा सचेतना अभिवृद्धि भएको, स्वास्थ्यचौकीमा नियमित सेवा सुविधा सञ्चालन भएको बताए ।

कमेन्टहरु
Loading...