ढकालको उपन्यास पुलिक बजारमा

पोखरा, १२ असोज /आख्यानकार नवराज ढकालको नयाँ उपन्यास ‘पुलिक’ शनिबारदेखि बजारमा आएको छ । ढकालका पिता वेदनाथ ढकालले सम्मोहन साहित्यिक पत्रिकाद्वारा आयोजित एक कार्यक्रमका बीच पुलिकको लोकार्पण गरे । कार्यक्रममा कृतिको समीक्षा गर्दै पृथ्वीनारायण क्याम्पसका नेपाली विभागका प्रमुख प्रा. डा. विष्णुप्रसाद पौडेलले पुलिक साम्यवादी वैचारिक उपन्यासका क्षेत्रमा पोखराले गौरव गर्नलायक महत्वपूर्ण कृति भएको बताए ।त्यस्तै अर्का समीक्षक प्रगतिशील लेखक सङ्घ कास्कीका अध्यक्ष डा. कृष्णराज अधिकारीले कल्पना र यथार्थको मिश्रण भएको प्रगतिवादी उपन्यासका रुपमा पुलिक पाठकका माझ आएको बताए । अर्का समीक्षक सम्मोहनका सल्लाहकार साहित्यकार ईश्वरमणि अधिकारीले पुलिकले नेपाली जनताको सपनाको आधा चेहरा देखाएको र आधा चेहरा स्वयम् पाठकले देख्ने बताए ।
कार्यक्रममा उपन्यासकार नवराज ढकालले आफ्नो लेखकीय अनुभव सुनाउँदै आफूलाई लेखकीय तटस्थता स्वीकार्य नभएको बताए । कार्यक्रममा सल्लाहकार राजेन्द्र चापागाईं ‘आहत’, बखानसिँह तमू ‘आभास’, ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालका अध्यक्ष गनेस पौडेल, गण्डकी साहित्य सङ्गमका अध्यक्ष नारायण परिश्रमी, प्रलेसका केन्द्रीय पार्षद नारायण मरासिनीलगायतले शुभकामना दिएका थिए ।
जनयुद्धलाई आधार मानेर प्रेम, युद्ध र सामाजिक विषयवस्तुलाई रोचक ढङ्गले समेटिएको पुलिक १८४ पृष्ठमा फैलिएको छ भने यसको प्रकाशन रत्नसागर प्रकाशन काठमाण्डौले गरेको हो । यसअघि पाश्चात्य साहित्य सिद्धान्त तथा समालोचना पद्धतिलगायत ४ वटा पाठ्पुस्तक लेखिसक्नुभएका ढकालको साहित्यिक कृति भने यो पहिलो हो ।

कमेन्टहरु
Loading...