रेडक्रसमा महिला गोष्ठी सुरु

पोखरा, असोज ११ /नेपाल रेडक्रस सोसाइटी, कास्की शाखाको आयोजना एवम् पोखरा–१७, उपशाखाको व्यवस्थापनमा दुइ दिने १५ औं जिल्लास्तरीय महिला गोष्ठी शुक्रवार पोखरामा सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी, कास्की शाखाका सभापति रामप्रसाद ज्ञवालीले अप्ठ्रोमा पर्दाको साथी रेडक्रस भएको बताउदै गोष्ठिमा सिकेका विषय आफ्नो कार्यक्षेत्रमा उतार्न सके फलदायी हुने बताउनुभयो ।

गोष्ठिमा कास्कीमा रहेका ५५ उपशाखाका करिव १ सय जना महिलाहरुको सहभागिता रहेको छ । पोखरा–१७ उपशाखाका सभापति तिर्थराज अधिकारी को अध्यक्षतामा भएको कार्यक्रममा दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर थापा, गुप्तेश्वर गुफा व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष तुलसीराम बराल, मेरी स्टोप्सका भवानी ज्ञवाली, वरिष्ठ पत्रकार नारायण भट्टराई, उपशाखाका उपसभापति झपिन्द्रराज रेग्मी, सचिव हरि श्रेष्ठ, सल्लाहकार लालकाजी गुरुङ लगायतले गोष्ठि महिलाहरुको लागि फलदायी हुने बताएका थिए ।

कास्की शाखाले प्रत्येक वर्ष महिलाहरुको लागि यस प्रकारको गोष्ठि आयोजना गर्दै आएको छ । प्रत्येक उपशाखामा २८ प्रतिशत महिलाहरुको प्रतिनधित्व छ भने पोखरा –४ उपशाखामा सबै महिला छन् । गोष्ठिमा रेडक्रस अभियान, महिलाका हक अधिकार सम्बन्धी अभिमुखिकरण, सुरक्षित गर्भपतन, यौन अभिमुखिकरण, कास्की जिल्लामा लैङिगक तथा सामाजिक समावेशीकरण सम्बन्धी गतिविधिबारे प्रशिक्षण दिइने कार्यक्रम संयोजक एवम् महिला उपसमितिकी संयोजक उर्मीला खड्काले जानकारी दिनुभयो । कार्यक्रममा राजु थकाली, खेमराज सापकोटा, भवानी ज्ञवाली, जुनाकुमारी गुरुङ लगायतले सहजिकरण गर्नुहुने छ ।

कमेन्टहरु
Loading...