पोखरामा निर्वाचन शिक्षा तालीम सुरु

पोखरा, १० असोज/पत्रकारका लागि निर्वाचन शिक्षा तालीम बिहिबारदेखि पोखरामा सुरु भएको छ । एसिया मिडिया फोरमको आयोजनामा भएको तालीममा पश्चिमाञ्चलका १२ जिल्लाका २५ जना पत्रकारहरुको सहभागिता रहेको छ । पाँच दिन सम्म चल्ने तालीमको उद्घाटन कार्यक्रममा, कास्कीमा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश रामप्रसाद वलीले चुनावमा आफुहरुले रेफ्रिको भूमिका निर्वाह गर्ने बताउँदै चुनावलाई निष्पक्ष, धादलीरहित र विश्वसनीय बनाउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले निर्वाचनलाई सम्पन्न गर्न मिडिया पनि एउटा ‘स्टेकहोल्डर’ को रुपमा रहेको बताउनुभयो । उहाँले सुरक्षाका कारण चुनावमा घात प्रतिघात हुने स्थिति कास्कीमा नभएको दावी गर्नुभयो । उहाँले कास्कीको चुनावी सुरक्षा योजना बनिसकेको बताउँदै गाउँ, नगर र सम्पूर्ण जिल्लालाई समेट्ने गरी तीन वटा सुरक्षा रणनीति तयार गरिएको बताउनुभयो ।

एसिया मिडिया फोरमका तालीम संयोजक अच्यूत अधिकारीले निर्वाचन प्रक्रिया, निर्वाचन कानून, संचार आचारसंहिता, निर्वाचन हिसां र पत्रकारको सुरक्षा बारे पत्रकारको ज्ञान अभिबृद्धि गर्न तालीम आयोजना गरिएको बताउँदै निर्वाचनमा निष्पक्ष, तथ्यपरक र पुर्वाग्रहरहित रिपोर्टिङ गर्न पत्रकारलाई सक्षम बनाउन तालीम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

तालीम संयोजक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्की, तालीमका क्षेत्रीय संयोजक केशवशरण लामिछाने, पत्रकार ईश्वरी न्यौपाने, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजेशनाथ बास्तोला लगायतले आगामि निर्वाचनलाई विश्वसनिय बनाउन संचार जगतले खेल्नु पर्ने भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो । तालीममा पूर्व रक्षा सचिव वामनप्रसाद न्यौपाने, पत्रकार किरण भण्डारी, पूर्व सहायक महान्यायधिवक्ता नरेन्द्र पाठक, पत्रकारिताका विशेषज्ञ डाक्टर धर्मानन्द अधिकारीले सहजिकरण गर्नुहुनेछ ।

कमेन्टहरु
Loading...